
काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका–३ को उमा–गौरी सहकारीको रकम अपचलन मुद्दाको प्रतिवादी रहेकी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी भएको गरेको छ । कोइराला संघीय संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् ।
सहकारीको रकम हिनामिना कसुरमा अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएपछि मोरङ अदालतले मंगलबार सांसदपत्नी तथा पूर्वसञ्चालक अञ्जला कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । मुद्दा दर्ता भएका २६ जनामध्ये वर्तमान सञ्चालक समिति सदस्य धनपालथान गाउँपालिका– ४ का ३७ वर्षीय रोशन राजवंशी मात्र पक्राउ परेका छन् ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले कोइरालासहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसअघि २४ भदौमा सहकारी रजिस्ट्रार कार्यालय कोसीले पोखरेल पत्नीको नाम काटेर अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण शाह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह तथा सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी र जीतमान ठाकुरको नाम अनुसन्धान गर्न प्रहरीलाई पठाएको थियो ।
त्यस्तै, लेखा समिति संयोजक विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र ओशककुमार विश्वासको नाममा समेत थप अनुसन्धानका लागि प्रहरीमा पत्र पठाइएको छ । इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले गत शुक्रबार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो ।