
नुवाकोट।सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष स्व. गोविन्द वियोगीकी धर्मपत्नी कृष्ण वदन वैद्यलाई अभिनन्दन गर्नुका साथै वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापना गरिएका विभिन्न पत्रकारिता पुरस्कारहरु बितरण गरेको छ ।
वरिष्ठ पत्रकार गोबिन्द बियोगीको १९ औं स्मृति दिवसका अवसरमा नुवाकोट जिल्लाको शिबपुरी नगरपालिका वडा नं संस्थाको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्ब प्रधानन्यायाधीश कल्याण श्रेष्ठले वैद्यलाई अभिनन्दन र पुरस्कृत ब्यक्तित्वहरुलाई पुरस्कार र सम्मान प्रदान गर्नुभएको हो।

समाजले यस बर्ष ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०८१’ पर्वत जिल्लामा महिलाहरूद्वारा सञ्चालित सामुदायिक एफ. एम. रेडियो ९५.२ लाई प्रदान गरेको छ।
संस्थागत रूपमा प्रदान गरिने यो पुरस्कार प्रमाणपत्र सहित नगद रु. २५ हजार रहेको छ । यस्तै गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार राजधानी दैनिकका बझाङ सम्वाददाता डीबी विष्ट र समय अनलाइनको सम्पादक ध्रुव रावललाई प्रदान गरिएको छ ।
बझाङ जिल्लालाई कार्यक्षेत्र बनाइ पत्रकारिता गरिरहेका विष्ट नेपाल पत्रकार महासङ्घ बझाङका सभापति हुन् भने रावल नुवाकोटमा रहेर विभिन्न सञ्चार माध्यमामा आबद्ध हुँदै पत्रकारिता गरिरहेका छन् ।
यो पुरस्कार जनही रु. १५ हजार एक र प्रमाणपत्र सहित रहेको छ ।
यसैगरी, यस वर्ष वरिष्ठ पत्रकार युवराज घिमिरेलाई सम्पादक समाज नेपाल सम्मानबाट सम्मानित गरिएको छ ।
समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा समाज नेपालको २०८१ पौष १७ गते बसेको बैठकले वहाँहरुलाई सम्मानित गर्ने निर्णय गरेको थियो।