
काभ्रे । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले खेतबारी बगरमा परिणत भएको छ । यहाँका किसान ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन् ।
गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका–२ गेल्ढुङ बजार आसपास क्षेत्रका किसान यतिबेला बारी सफा गरेर आलु रोप्ने तरखरमा छन् ।

बजारमूल्य राम्रो पाउने भएका कारण किसानले हिउँदमा आलुखेती गरेर आम्दानी गर्दै आएका थिए । तर यसपटक भने बाढीले बारी सबै पुरिएका कारण खेती गर्न समस्या भएको उनीहरूको गुनासो छ ।
खेतबारीमा भरिएका ढुङ्गा खोलामा लगेर फाल्दै पुनः खेतीयोग्य बारी बनाउन किसानलाई सकस परेको छ । कतिपय त गाडीको सहायताले अरु ठाउँमा लगेर थुपार्ने गरिरहेका छन् ।
स्थानीयहरु खेतीपाती र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्नुपर्ने बारीमा बाढीले क्षति पुर्याएपछि झन् समस्यामा परेको बताउछन् ।
बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि यहाँका नागरिकले सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको गुनासो गरेका छन् । सो वडामा मात्रै बाढीले ४९ घरमा पूर्ण क्षति गरेको थियो ।
बाढीपहिरोबाट समस्या झेल्दै आएका यहाँका नागरिकले समय बितेसँगै आफ्नै बलबुतामा भएको पाखोबारी खनजोत गर्दै जीवन गुजारा गर्ने तरखर गरेका छन् ।
कृषि र पशुमा आत्मनिर्भर भएको पालिका बेथानचोकले विपद् पहिले दैनिक ५ देखि ६ हजार केजी तरकारी र २२ हजार लिटर दूध निर्यात गर्दै आएको पालिकाको कृषि तथा पशुपन्छी शाखाले जनाएको छ ।
शाखाका अनुसार, विपद्पछि करिब २ हजार तरकारी र १८ हजार लिटर दूध मात्र निर्यात भइरहेको छ । पालिकाभर करिब ४२ सय कृषक घरधुरी रहेकामा विपद्बाट १९ सय २६ जना कृषक प्रभावित भएको तथ्यांक छ ।
पालिकाको कुल कृषियोग्य ३३ सय ४४ हेक्टर क्षेत्रफल जमिनमध्ये ९ सय हेक्टर क्षेत्रफलमा क्षति पुगेको शाखाले जनाएको छ । पालिकाको वडा नं २, ३ र ४ मा धेरै क्षति पुगेको छ ।