
काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ ।भारतले दिएको १११ रनको लक्ष्य न्यूजिल्याण्डले १५ औं ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ ।
भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक २६ रन र हार्दिक पाण्डेले २३ रनको पारी खेलेका थिए । १११ रनको सामान्य विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले १४ दशमलव ३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि भारत आठ विकेटले परजित हुन पुगेको हो ।

न्युजिल्याण्डका लागि ओपनर डर्याल मिचेलले ४९ रनको योगदान दिए भने कप्तान केन विलियम्सनले ३३ रनको योगदान दिंदै अविजित रहे । उपाधीको दावेदार मानिएको भारत यो लगातार दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।
सुपर १२ को समूह दुईमा पाकिस्तान शीर्ष स्थानमा छ भने अफगानिस्तान दोस्रो र न्युजिल्याण्ड तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी भारत र स्कटल्याण्ड अंकविहिन हुँदै पाँचौ र छैटौं स्थानमा रहेका छन् ।
हिजै सम्पन्न पहिलो खेलमा अफगानिस्तानले नामिबियामाथि ६२ रनको सानदार जीत निकालेको थियो । आजको खेल भने इङ्ल्याण्ड र श्रीलंकाबीच साँझ ७.४५ बजेबाट खेलिंदैछ ।