
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारले हालै जारी गरेको अध्यादेशको पक्ष वा बिपक्षमा कता मतदान गर्ने भन्ने बारेमा आज निर्णय लिँदैछ ।
सरकारले हालै जारी गरेको अध्यादेश प्रतिनिधिसभावाट पारित हुन सक्ने भएतापनि राष्ट्रियसभामा भने जसपा नेपाल बिना नसकिने भए पछि अहिले बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा संसदीय दलको बैठक बसेर निर्णय लिन लागेको हो ।

अध्यादेशको पक्षमा उभिने कि नउभिने भन्ने बारेमा जसपा नेपालले पर्यटन तथा अन्तराष्ट्रिय सबन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेको छ ।
जसपा नेपालले बिहीबार बिहान संसदीय दलको बैठक राखेर सो बारेमा निर्णय लिने भएको छ । उक्त बैठकबाट अध्यादेशमा पार्टीको धारणा तय गरिने छ ।
संविधानले संसद्को अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्ने भने पनि संसद् अधिवेशन सुरु भएपछि पहिलो बैठक मै दुवै सदनमा अध्यादेश पेस गर्नु पर्ने संवैधानिक व्यवस्था छ । अध्यादेश दुवै सदनमा पेस गरेर दुवै सदनबाट स्वीकार हुनुपर्ने प्रावधान रहेकाले जसपा नेपाल निर्णायक भएकाे हाे ।