काठमाडौँ । नेपालमा संघीयताको भविष्यबारे अड्कलबाजी चलिरहेका बेला अमेरिकी सरकारले त्यसका लागि छुट्याएको २ करोड डलर बराबरको सहयोग रद्द गरेको छ ।

टेस्ला, स्पेस एक्स र सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कको नेतृत्वमा राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको ‘डिपार्टमेन्ट अफ गभन्र्मेन्ट इफिसियन्सी’ (डोग) ले जारी गरेको सूचनाअनुसार अमेरिकी करदाताबाट प्राप्त उक्त रकम तत्काल लागू हुने गरी रद्द गरिएको हो ।

यसैगरी नेपालमा ‘आर्थिक सहायता’का नाममा छुट्याइएको २ करोड डलर तथा जैविक विविधता संरक्षणका लागि छुट्याइएको १ करोड ९० लाख डलरको सहयोग पनि रद्द भएको छ । रद्द गरिएका अन्य सहयोगमा लैंगिक समानतासँगै अपांगता र जातीय समूहहरूका नाममा छुट्याइएकोे २७ लाख डलर पनि सामेल छ ।

डोगको ह्यान्डलबाट सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएअनुसार नेपाललगायत कम्बोडिया, सर्बिया, भारत, बंगलादेश, लाइबेरिया, माली, दक्षिण अफ्रिका र अन्य एसियाली देशलाई गरेको सहयोग रकम पनि रोक्का गरिएको छ । कोसोभो र इजिप्टलगायत देशका सीमान्तकृत समुदायका लागि गर्दै आएको सहयोग पनि रोक्का गरिएको छ । डोगले अमेरिकी करदाताले कर तिरेको रकम अन्यथा भएकाले यो निर्णय गरिएको जनाइएको छ ।

निर्वाचन र राजनीतिक प्रक्रियाका लागि संसारका विभिन्न देशमा पुग्दै आएको ४८६ मिलियन अमेरिकी डलर सहयोग रकमसमेत रोक्का गरिएको छ । त्यसमध्ये भारतमा गरिएको २ करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग पनि रोक्का गरिएको छ । एसियामा विभिन्न विषयको प्रशिक्षणका लागि गरिँदै आएको ४ करोड ७० लाख अमेरिकी डलर सहयोग पनि रोक्का गरिएको छ ।

यो निर्णयले नेपालसहित दक्षिण एसियाली देशका साथै कोसोभो, माली, लाइबेरिया र सर्बियामा असर पुग्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय