
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र आजको दिनमा सबभन्दा उत्तम शासन प्रणाली हुनुपर्ने बताउनुभएको । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा १० मिनेट लामो भिडिओ सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातान्त्रिक प्रणालीलाई समाजमैत्री र जनहितेषीको रुपमा पनि हेरिनुपर्नेमा जोड दिनुभएको हो । कर्म र व्यवहारमा उतार्नेखालको प्रजातन्त्र हुनुपर्नेमा उहाँको जोड छ । उहाँले प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व सुरक्षित हुनुपर्ने धारणा राख्नुभएको छ । शाहले निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो नबनाउने दाबी गर्नुभयो ।
उहाँले राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भिडिओ सन्देशमा भन्नुभएको छ–“देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ । राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ, अब समय आयो, राष्ट्र जोगाउने हो भने र राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ।’ उहाँले आज देशको इतिहास मेटिँदै गएकोमा भने चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले अहिले नेपालीहरुको पसिना नेपालमा नभएर अन्तै पोखिरहेको टिप्पणी गर्नुभयो । नेपालका कलकाखाना, व्यापार तथा व्यवसाय निरन्तर धराशयी बनेको उहाँको चिन्ता छ । प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्ने र जनताको भरोसा जगाउने प्रणाली हुनुपर्ने उहाँको भनाई छ । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने, सबैले खोजेको प्रजातान्त्रिक व्यवस्था नै भएको उहाँको भनाई छ ।
देशमा कुनै संकट नआओस भन्ने आफूहरुको परिकल्पना भएकोले नै सधैं देशहितमा उदारता राख्दै आएको पनि उनले स्मरण गराउनुभयो । देश र जनताको भलो होस भनेर आफूहरुले आफ्नो ओहोदा र सुखसुविधालाई त्याग गरेको शाहले सम्झाउनुभयो । भिडिओ सन्देशमा उहाँले भन्नुभएको छ–“त्यागले कसैको कद सानो हुने होईन । त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन् । कतै, कसैलाई कुनै पन, पक्ष नभनी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आशयपनि त्यही नै हो ।