
विराटनगर– प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनुभएको छ ।
प्रदेश सभा बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले राजीनामा दिनुभएको हो । एमाले प्रदेश सभा दलको नेताको हैसियतमा आचार्य भदौ १० गते मुख्यमन्त्री हुनुभएको थियो ।

एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै आचार्यले बहुमत गुमाउनुभएको थियो ।
विश्वासको मतमाथि आज मतदान गर्ने कार्यसूची भए पनि आचार्यले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिनुभएको हो ।
आचार्यको राजीनामासँगै विपक्षी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री हुने निश्चित भएको छ ।
प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समय छोटो भएका कारण कतिपय योजनाहरु पूरा हुन नसकेको बताउनुभयो । संसदको अंकगणित आफूहरुको पक्षमा नरहे पनि आम प्रदेशबासीको चाहना सरकारको निरन्तरताको पक्षमा रहेको उहाँको जिकिर थियो ।