
ब्राजिलमा बैंक चोरी गरेको आरोपमा २५ जना मारिएका छन्। आइतबार बिहान देशको दक्षिण पूर्वमा पर्ने मिनास गेराइस राज्यमा बैंक चोरीका आरोपितहरूले चोरीको तयारी गरिरहेका बेला ब्राजिल प्रहरीले उनीहरूमाथि गोली चलाएको थियो। प्रहरी अधिकारीहरूले सो घटनालाई हतियारधारी बैंक लुटेराहरूविरुद्धको अभूतपूर्व हमला भएको बताएका छन्।
आरोपितहरूलाई रियो द जेनेरियो सहरबाट करिब ३४५ किलोमिटर उत्तरपश्चिममा पर्ने भर्जिनहा सहरका दुई फार्महाउसमा मारिएको स्थानीय पत्रिका ओ टेम्पोलाई उदृत गर्दै द गार्जिएनले जनाएको छ। सो मिसनमा सहभागी संघीय सरकारअन्तर्गतको प्रहरीले आरोपितहरूसँग विष्फोटक पदार्थ, बुलेटप्रुफ भेस्ट तथा ५०–क्यालिबर मेसिन गनजस्ता अत्याधुनिक हतियार रहेको बताएको छ। उनीहरूबाट राइफल, ग्रिनेड तथा चोरीका गाडीहरू बरामद गरेको पनि प्रहरीले जनाएको छ। यस्ता समूहले बैंक लुटेपछि प्रहरीबाट बच्नका लागि चोरी गरेका गाडीहरूमा आगजनी गरेर सडक अवरुद्ध गर्ने गरेको पनि प्रहरीले बताएको छ।

ब्राजिलमा गत अगस्ट तथा सन् २०२० को डिसेम्बरमा पनि हतियारधारी समूहले बैंकमा आक्रमण गरेका थिए। प्रहरीले आइतबार मारिएका आरोपितहरूले स्थानीय बैंकहरू लुट्ने भावी योजना बनाइरहेको बताएको छ। मारिएका आरोपितहरूको पहिचान भने खुलाइएको छैन। उनीहरू विगतमा बैंक लुट्ने समूह हुन सक्ने पनि प्रहरीले बताएको छ। ब्राजिलमा विशेष योजना बनाएर अत्याधुनिक हतियारसहित बैंक लुट्ने घटना बढ्दो छ।
गत वर्ष ब्राजिलमा प्रहरीद्वारा ६४०० भन्दा बढी मानिस मारिएका थिए। मारिनेहरूमा अधिकांश अश्वेत नागरिक रहेको बताइएको छ। ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारो बन्दुक समर्थक मानिन्छन्। सुरक्षा फौजको सहयोगले सन् २०१८ मा राष्ट्रपतिमा निर्वाचित भएका मानिने उनले निवार्चित भएलगत्तै ‘अपराधीरूले सडकमा नै मर्नुपर्छ,’ भन्ने अभिव्यक्तिसमेत दिएका थिए।