
काठमाडौँ । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा ४ अर्ब १२ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व संकलनमा वृद्धि भएको हो ।
घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर २ अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट १ अर्ब ५७ करोड ७१ लाख ६४ हजार रूपैयाँ संकलन भएको छ ।

विभागले गत साउनमा ३ अर्ब ८३ करोड ५० लाख, भदौमा ३ अर्ब ९ करोड, असोजमा ३ अर्ब ८ करोड १२ लाख, कात्तिकमा २ अर्ब ७० करोड ४० लाख, मङ्सिरमा ३ अर्ब ८७ करोड, पुसमा ४ अर्ब २५ करोड २२ लाख र माघमा ३ अर्ब ८७ करोड २४ लाख राजस्व संकलन गरेको थियो ।
मालपोत कार्यालय कलंकीले गत फागुनमा २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले ३ करोड ९४ लाख ४१ हजार रूपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।