
बुटवल । बुटवलस्थित कालिकानगरमा रहेको सनराईज बहुउद्देश्यीय सहकारी लिमिटेडका संचालक तथा कर्मचारीहरु कार्यालय बन्द गरि सम्पर्क बिहिन भएका छन ।
अध्यक्ष र संचालकहरु रकम हिनामिना गरी फरार भएको भन्दै कर्मचारीले सुचना टाँसेर कार्यालय अनिश्चितकालका लागि बन्द भएको जानकारी गराई सम्पर्कबिहीन भएका हुन् ।

आफूले दुःख गरी बचाएको रकम सहकारीले ठगेर भागेपछि बुटवलमा संचालित सनराइज बहुउद्देयीय सहकारी संस्था लि.का बचत कर्ताहरु तनावमा परेका हुन् । सहकारीमा पुगेका केही वचतकर्ता, संचालक र कर्मचारीहरुलाई सम्पर्कको प्रयास गरिरहेका छन् तर कोही पनि सम्पर्कमा आएका छैनन् ।
वचतकर्ताहरुका अनुसार पछिल्लो समय सहकारी संचालक तथा कर्मचारीहरुले बढी ब्याज आउने आकर्षक योजना खोलेको बताउँदै मुद्धति वचतका लागि सर्वसाधारणलाई आकर्षित गर्दै आएका थिए ।
ब्याज धेरै पाउने लोभमा आफ्नो दुःखसुख गरी जम्मा गरेको रकम नदिइ संचालक तथा कर्मचारी फरार भएपछि बचतकर्ता चिन्तित बनेका छन् ।
चैत ३१ गतेसम्म बजारवाट रकम उठाएको सहकारीले सोही दिन अध्यक्ष फरार रहेकाले समस्या भएको सूचना टाँसेर सहकारी बन्द रहने जानकारी गराएको छ ।
सुचनामा सहकारीका अध्यक्ष आकाश भट्रराईले आर्थिक अपचलन गरि केही समयदेखि सम्पर्कमा नआएको र अध्यक्षको खोजी जारी रहेकाले सहकारी बन्द गरिएको बताइएको छ ।
सहकारीको संख्या बढेपनि सरकारले अनुगमन र नियमन नीति कडा पार्न नसकेका कारण सहकारी संचालकले ठग्ने र सर्वसाधारण वचतकर्ता ठगिने शिलशिला बढीरहेको छ । सहकारीहरु धमाधम ठग्दै भाग्दै गरेका बेला सहकारीको रकमको सुरक्षा कसले गर्ला प्रश्न उब्जीएको छ ।