काठमाडौं । भारत प्रशासित जम्मु कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको हो । साथै बिहीबार सर्वदलीय बैठकसमेत बोलाउने निर्णय भारत सरकारले गरेको छ ।

भारतीय मिडियाका अनुसार बुधबार बसेको मन्त्रिपरिषद बैठकले भारत–पाकिस्तानबीचको सिन्धु जल सम्झौता खारेज गर्ने निर्णय गरेको छ । साथै, अटारी सीमानाका बन्द गर्ने, भारत आएका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र स्वदेश फर्किन निर्देशन दिने, पाकिस्तानी नागरिकको भिसा रद्द गर्ने, नयाँदिल्लीस्थित पाकिस्तान हाई कमिसनमा तैनाथ पाकिस्तानी डिफेन्स एडभाइजर्सलाई भारत छाड्न एक हप्ताको समय दिने बैठकले निर्णय गरेको जीप्लसले उल्लेख गरेको छ ।

यस्तै, हाई कमिसनमा तैनाथ कर्मचारीको संख्या ५५ बाट घटाएर ३० कायम गर्ने पनि निर्णय गरेको छ । आतंकवादी हमलामा पाकिस्तान संरक्षित आतंकवादीको हात रहेको भन्दै भारतले यी निर्णयहरु गरेको हो । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने पहलगाम आक्रमणमा पाकिस्तानको कुनै पनि संलग्नता नरहेको बताएका छन् ।

जम्मु कश्मीर बन्द
भारतको गुप्तचर निकायका अनुसार आक्रमणमा लस्कर ए तोयबाको प्रोक्सी विङ्ग द रजिस्टेन्स फ्रन्ट (टीआरएफ)को हात छ । पहलगाम आक्रमणमा संलग्न आतंकवादी भनेर भारतले तीन जनाको स्केच जारी गरेको छ । उनीहरुको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भनिएको छ ।

पर्यटकीय क्षेत्र पहलगाममा घुम्न गएका पर्यटकहरुमाथि गोली बर्साउँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो । २० जनाभन्दा बढी घाइते छन् ।

घटनाको अनुसन्धानका लागि भारत सरकारको राष्ट्रिय अनुसन्धान एजेन्सीको टोली पहलगाम पुगेको छ । सोधपुछका लागि दर्जनौं व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ । सो घटनाका कारण आज जम्मु कश्मीर बन्द छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको भत्र्सना गर्दै आतंकवादीहरुलाई नछाड्ने चेतावनी दिएका छन् । नेपाल सरकारले पनि आतंकवादविरुद्ध भारतलाई साथ दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय