
सुर्खेत । कर्णाली प्रदेशका नयाँ मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री शाहीले सपथ ग्रहण गरे पनि मन्त्रिपरिषद् विस्तार गर्न असफल भएका छन् ।सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डा नमिलेपछि मंगलबार शाही एक्लैले शपथ ग्रहण गरेका छन् । गठबन्धनभित्र मन्त्रालय बाँडफाँटको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ ।

शाही नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा नयाँ मुख्यमन्त्री बनेका छन् । गठबन्धनमा आलोपालो सरकार चलाउने सम्झौताबमोजिम छोटो समयका लागि उनी मुख्यमन्त्री बनेका छन् ।
त्यससँगै मंगलबार नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
यसअघि माओवादीबाट मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही रहेका थिए ।