चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई धार्मिक क्षेत्र बनाइने बताउनुभएको छ । मंगलबार चितवनको माडीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले चितवनलाई कुरुक्षेत्र नभई धार्मिक क्षेत्र बनाउने बताउनुभएको हो ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनको माडीमा ३९ जनाको ज्यान जाने गरी यात्रु बसमा गरिएको बम आक्रमण सम्झाउनुभएको छ । एमाले माडी नगर कमिटीले मंगलबार गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले २०६२ जेठ २३ गते माडीको बगईबाट भरतपुर जाँदै गरेको यात्रु बसलाई माडीको बाँदरमुढे खोलानजिकै एम्बुस थापेर विस्फोट गराइएको घटना प्रचण्डलाई स्मरण गराउनुभएको हो ।

‘प्रचण्डले माडीमा ३९ जना सर्वसाधारणको ज्यान जाने गरी बम पड्काएका थिए । अहिले पनि जनयुद्धको त्यही घटना सोचेर यो ठाउँलाई कुरुक्षेत्र बनाउँला भन्दैछन’, ओलीले भन्नुभयो, ‘अब यो ठाउँ कुरुक्षेत्र होइन, धर्म क्षेत्र, शान्ति क्षेत्र, पवित्र भूमि र विकास क्षेत्र हुन्छ ।’

‘कुरुक्षेत्र किन बनाउने ?’ ओलीले भन्नुभयो, ‘अब कुरुक्षेत्र होइन, यहाँ धर्मक्षेत्र हुन्छ । विकास, शान्ति र एकताको क्षेत्र हुन्छ ।’ यस्तै उहाँले जसले युद्ध चाहन्छ त्यसले हार्ने पनि बताउनुभयो । ‘कुरुक्षेत्रै बनाउन खोजेको हो भने म भन्न चाहन्छु, कौरवहरूले जितेका थिएनन्, पाण्डवहरूले जितेका थिए । जसले युद्ध खोज्छ उसले हार्छ,’ उहाँले भन्नुभयो ।

केही दिनअघि चितवन पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले चितवन आगामी चुनावमा कुरुक्षेत्र बन्ने बताउनुभएको थियो । त्यस्तै, ओलीले ‘भगवान् राम’को जन्म नेपालमै भएको दाबी दोहो¥याउनु भएको छ । उहाँले भन्नुभयो, ‘आजभन्दा चार हजार वर्ष अगाडि रामको जन्म भएको थियो । रामको जन्म यही अयोध्यापुरीमा भएको थियो ।’ अयोध्यापुरीबाट देवघाट र वाल्मिकी आश्रमनजिकै रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय