दुबई । संयुक्त अरब इमिरेट्स र ओमानमा जारी टीट्वेन्टी विश्वकपको फाइनल खेल आइतबार राति दुबईमा हुँदैछ। विश्वकपको ४४ खेलपछि अस्ट्रेलिया र न्युजिल्यान्डले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्।

दुई वर्ष अघि निर्धारित ओभर र सुपर ओभरमा पनि बराबर भएपछि अन्ततः बाउन्ड्रीका आधारमा इङ्ल्यान्डलाई नतिजा सुम्पिएपछि न्युजिल्यान्डको एकदिवसीय विश्वकपको उपाधि चुम्मे सपना पूरा हुन सकेन। न्युजिल्यान्डले पहिलो पटक टीट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाउँदा इङ्ल्यान्डसँग दुई वर्ष अघि लड्समा भोगेको नमिठो हारको बदलासमेत लियो।

न्युजिल्यान्ड लगातार तेस्रो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्न लागेको छ। न्युजिल्यान्डले विश्व क्रिकेटकै लामो संरचना टेस्ट च्याम्पियनसिपको उपाधि भने जितिसकेको छ। न्युजिल्यान्ड आइतबार टीट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाको सामना गर्दा छोटो संरचनाको क्रिकेटमा पनि आफूलाई अब्बल सावित गर्ने लक्ष्यमा हुनेछ।

न्युजिल्यान्ड टीट्वेन्टी विश्वकप क्रिकेट फाइनलमा पहिलो पटक स्थान बनाउको हो। त्यसैले आइतबार चिरप्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्दा पहिलो न्युजिल्यान्ड उपाधि जित्ने अभियानमा हुनेछ। सन् २०१९ मा इङ्ल्यान्डलाई एकदिवसीय क्रिकेट विश्वकपको उपाधि सुम्पिदा न्युजिल्यान्डलाई अम्पायरको एउटा गल्ती महंगो साबित बनेको थियो। इङ्ल्यान्डमै सम्पन्न पहिलो टेस्ट विश्व च्याम्पियनसिपको फाइनलमा भारतलाई पराजित गर्दै न्युजिल्यान्डले दुई वर्ष अघिको पीडामा मलम त लगाएको छ। तर, एकदिवसीय विश्वकपमा भोगेको हारको पीडाले भने अहिले पनि न्युजिल्यान्डलाई पिरोल्ने गर्छ।

सुपर १२ को समूह दुईमा रहेको न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। तर, त्यसपछिका चार वटै खेलमा लगातार जित हात पारेपछि न्युजिल्यान्डले दोस्रो हुँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

सेमिफाइनलमा ड्रियल मिचेलको अर्धशतक र जेमी निसमको आक्रामक ब्याटिङमा न्युजिल्यान्डले इङल्यान्डलाई स्तब्ध पार्दै पहिलो पटक टीट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा स्थान सुरक्षित गरेको थियो।

फाइनलमा स्थान बनाएपछि निसमले कुनै पनि टोली सेमिफाइनल मात्र जित्ने लक्ष्यका साथ प्रतियोगितामा नहोमिने बताए। ‘कुनै पनि टोलीको लक्ष्य सेमिफाइनल मात्र पुग्ने हुँदैन’, निसमले भने, ‘हामी इङ्ल्यान्डविरुद्धको जितले मात्तिएका छैनौं। हामीसँगै अझै एउटा खेल बाँकी छ। हामीले त्यो खेल जित्दै ठूलो उपलब्धि हासिल गर्ने अभियानमा छौं।’तर, चोटका कारण डेभोन कनवेको अनुपस्थिति न्युजिल्यान्डका लागि महंगो साबित बन्न सक्छ। अस्ट्रेलिया पनि समूह एकको उपविजेताको हैसियतमा सेमिफाइनलमा स्थान बनाएको हो। अस्ट्रेलियाले फाइनलमा स्थान पक्का गर्ने क्रममा उत्कृष्ट लयमा रहेको पाकिस्तानलाई निरास बनाएको थियो। अस्ट्रेलियाका लागि ओपनर डेविड वार्नरको उत्कृष्ट लय न्युजिल्यान्डविरुद्ध गतिलो हतियार बन्न सक्छ। उनले ४७.२० को औसतमा दुई सय ३६ रन बनाइसकेका छन्। उनले पाकिस्तानविरुद्धको सेमिफनइनलमा पनि ४९ रन जोडेका थिए। न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको फाइनलले टीट्वेन्टी विश्वकपमा नयाँ विजेता पाउने छ।

सन् २००७ मा भारत, २००९ मा पाकिस्तान, २०१० मा इङ्ल्यान्ड तथा सन् २०१२ र सन् २०१६ मा वेस्ट इन्डिज र सन् २०१४ मा श्रीलंकाले उपाधि जितेका थिए। अस्ट्रेलिया सन् २०१० को टीट्वेन्टी विश्वकपको फाइनलमा पुगे पनि इङ्ल्यान्डसँग पराजित भएको थियो। एकदिवसीय विश्वकपमा दबदबा कायम राखेको अस्ट्रेलियाले सीमित ओभरको विश्वकपमा भने उपाधि जित्न सकेको छैन। आइतबार पनि न्युजिल्यान्डको लयलाई पन्छाउन निकै मेहनत गर्नुपर्ने आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय