
काठमाडौं । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाललाई सिक्किम र अफगानिस्तान बनाउने योजनामा लागेको आरोप लगाएका छन् । उनकै निर्देशन र षड्यन्त्रअनुसार न्यायालयमा विवाद निम्तिएको वताए ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अदालत कब्जा गर्न नसकेपछि प्रपञ्च रचेर (बन्दुक पड्काएर) अहिलेको स्थिति पैदा भएको उनले आरोप लगाए ।
उनले भने, ‘प्रचण्डले वकिलहरुको काँधमा राखेर न्यायालयमा बन्दुक पड्काए । पुष्पकमल दाहालको कब्जामा अदालत थिएन, त्यही भएर उनले अहिले अदालतमा बन्दुक पड्काए । अब टालटुले नगरौं । कार्पेटमुनिको सबै फोहोर फालौं । नेपाली जनता अब सडकमा आउनुपर्छ । यसको विकल्प छैन ।’

उनले नागरिकलाई चाहिने सबैभन्दा महत्वपूर्ण दुई निकायमा अदालत र अस्पताल भएको उल्लेख गरे । उने भने, ‘नागरिकलाई चाहिने यी दुई वटा कुरामा अहिले अदालतमा वितण्डा मच्चाईएको छ । हेर्नुहोस, नागरिक जाने थलो भएकोले अदालतमा गार्ड राखिँदैन् । खुल्ला इजलास हुन्छ । आफ्नो मुद्दा दर्ता गर्न पाउँछ । आजमात्रै १५–२० जना मान्छे नेपालका लागि नेपालीहरु सागर खड्काहरु थुनामा राखिएका छन् । प्रहरी प्रशासन लगाएर यातना दिएर पक्राउ गरेको छ । आन्दोलनकारी वकिलहरुको निर्देशनले थुनामा राखिएको छ । यसको म निन्दा गर्दछु ।’
उनले न्यायाधीशहरुले बेन्च बहिष्कार गर्नु यो व्यवस्थाको असफलताको पराकाष्ठा भएको पनि दाबी गरे । उनले भने, ‘अब नेपाल परिवर्तनको संघारमा पुगेको छ । नक्कली व्यवस्था, नक्कली प्रधानमन्त्री, नक्कली वकिलहरुको विरुद्धमा अब जनता आन्दोलित हुनुपर्छ ।’