काठमाडौँ । जीवनका कठिन मोडहरूलाई अवसरमा बदल्दै स्वदेशमै भविष्य खोज्ने युवाहरूका प्रेरक कथाले नर्सरी तथा हर्टिकल्चर व्यवसायप्रति आकर्षण बढ्दै गएको देखिएको छ। शारीरिक चुनौती, सामाजिक दृष्टिकोण र आर्थिक संकट पार गर्दै अघि बढेका युवाहरू अहिले हरियालीमार्फत आत्मनिर्भर बन्ने यात्रामा छन्।
सिन्धुलीका २५ वर्षीय शिशिर दाहाल त्यसका ज्वलन्त उदाहरण हुन्। विसं २०७८ मा भएको दुर्घटनाले मेरुदण्डमा चोट लागेपछि उहाँ शारीरिक रूपमा अपाङ्ग बन्नुभयो। सुरुमा निराशा र अनिश्चितताबीच संघर्ष गर्नुपरे पनि “अब के गर्ने?” भन्ने प्रश्नले नै उहाँलाई नयाँ बाटोमा डोर्यायो। कृषि अध्ययनको अनुभवलाई आधार बनाउँदै उहाँले २०७९ देखि नर्सरी व्यवसाय सुरु गर्नुभयो। आज उहाँको नर्सरीले आम्दानी मात्रै होइन, आत्मविश्वास र प्रेरणा पनि दिएको छ।

त्यस्तै, कीर्तिपुरकी सुरसा ओझाले पारिवारिक परम्परालाई निरन्तरता दिँदै नर्सरी व्यवसायलाई आधुनिक उद्यमका रूपमा अघि बढाइरहनुभएको छ। समाजमा अझै कृषिजन्य पेशाप्रति सम्मानको कमी भए पनि उहाँ यसलाई परिवर्तन गर्ने अठोटमा हुनुहुन्छ। “एउटा बिरुवा रोप्नु भनेको भविष्य रोप्नुजस्तै हो,” उहाँको विश्वास छ।
ललितपुरका दीपेन्द्र तुलाधारको यात्रा पनि फरक छैन। कोरोना महामारीपछि विज्ञापन व्यवसाय प्रभावित भएपछि उहाँले नर्सरी व्यवसाय रोज्नुभयो। अहिले मासिक लाखौँ आम्दानी गर्दै उहाँ ग्राहकलाई बिरुवाको हेरचाहसम्बन्धी ज्ञानसमेत दिइरहनुभएको छ। उहाँका अनुसार, जीवनशैली परिवर्तनसँगै घर, कार्यालय र सार्वजनिक स्थलमा हरियालीप्रतिको आकर्षण बढ्दो छ।
यस्तै, काठमाडौँका आकाश सापकोटा र मोरङका युवा अरुण विष्टले पनि यही क्षेत्रमा भविष्य देखेका छन्। पारिवारिक व्यवसायबाट सिक्दै आएका उनीहरू नर्सरीलाई सम्भावनाको क्षेत्रका रूपमा लिइरहेका छन्। विदेशिने लहरबीच स्वदेशमै अवसर खोज्ने उनीहरूको सोचले नयाँ आशा जगाएको छ।
पुष्प विकास केन्द्रका अनुसार नेपालमा वार्षिक करिब साढे तीन अर्ब रुपैयाँ बराबरको पुष्प तथा आलङ्कारिक सामग्री आयात हुने गरेको छ, जसलाई स्वदेशी उत्पादनमार्फत प्रतिस्थापन गर्न सकिने पर्याप्त सम्भावना छ। नर्सरी व्यवसायी सङ्घका अनुसार यस क्षेत्रमा ११ अर्बभन्दा बढी लगानी रहेको छ भने एक लाख २० हजारभन्दा बढी मानिस रोजगारीमा आबद्ध छन्।
विशेषज्ञहरूका अनुसार सरकारी नीति, प्रविधि, गुणस्तरीय बीउ–बिजन र बजार विस्तारमा ध्यान दिए नर्सरी व्यवसायले अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउन सक्छ। भृकुटीमण्डपमा सञ्चालन भइरहेको हर्टिकल्चर एक्स्पोले पनि यस क्षेत्रको सम्भावना उजागर गरेको छ।

