काठमाडौं । दिगो भविष्य निर्माणका लागि सामूहिक प्रयासको सन्देश दिँदै आज विश्व मातृ पृथ्वी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसंघ को आह्वानमा सन् २००९ देखि प्रत्येक वर्ष अप्रिल २२ मा यो दिवस मनाउने गरिएको हो ।

यस दिवसले पृथ्वीको संरक्षण, वातावरणीय सन्तुलन कायम राख्ने र प्राकृतिक स्रोतहरूको दिगो उपयोगका लागि विश्व समुदायलाई एकजुट हुन आग्रह गर्दछ । पछिल्लो समय महासागरहरू प्लास्टिकजन्य फोहरले भरिँदै गएका छन् भने तीव्र रूपमा अम्लीय बन्दै गइरहेका छन् । त्यस्तै, अत्यधिक तापक्रम वृद्धि, डढेलो तथा बाढीपहिरोका घटनाले विश्वभर लाखौँ मानिस प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार हरेक वर्ष करिब एक करोड हेक्टर वन क्षेत्र नष्ट भइरहेको छ । वातावरणविद्हरूका अनुसार स्वस्थ पारिस्थितिक प्रणालीले मानव स्वास्थ्य जोगाउन महत्वपूर्ण भूमिका खेल्छ भने जैविक विविधताले रोग फैलाउने सूक्ष्म जीवहरूको नियन्त्रणमा सहयोग पुर्‍याउँछ । हाल करिब १० लाख वनस्पति तथा जनावरका प्रजाति लोप हुने जोखिममा रहेको अनुमान गरिएको छ ।

जलवायु परिवर्तन, वन विनाश, भू–उपयोग परिवर्तन, अत्यधिक कृषि तथा पशुपालन र अवैध वन्यजन्तु व्यापार जस्ता गतिविधिहरूले जैविक विविधतामा गम्भीर असर पारिरहेका छन् । यसले पृथ्वीको समग्र प्रणालीमै संकट निम्त्याउँदै गएको छ ।

विशेषज्ञहरूका अनुसार बिग्रँदै गएको पारिस्थितिक प्रणालीको पुनः स्थापना अहिलेको प्रमुख आवश्यकता हो । पारिस्थितिक प्रणाली नै सम्पूर्ण जीवजन्तुको आधार भएकाले यसको संरक्षणले मानव जीवनलाई स्वस्थ र सुरक्षित बनाउने विश्वास गरिएको छ । साथै, यसको पुनःस्थापनाले गरिबी न्यूनीकरण, जलवायु परिवर्तनको असर घटाउने र प्रजातिको विनाश रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय