बाहुनडाँगी लगायत मेचीनगर को सीमावर्ती क्षेत्रमा भारतबाट आउने जङ्गली हात्तीका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। पछिल्लो एक सातादेखि राति भारतीय जङ्गलबाट ३० देखि ४० वटासम्मको हात्तीको बथान नेपाल प्रवेश गरी पाकेको मकै, सुपारी तथा अन्य बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका हुन्।

मेचीनगर नगरपालिका वडा नं. १, ४ र ५ मा पर्ने क्षेत्रमा हात्तीको बथानले दैनिकजसो क्षति पुर्‍याइरहेको छ। वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्की का अनुसार भारतको आसाम क्षेत्रबाट करिब १०० वटा हात्ती सीमापारिको जङ्गलमा बस्ने गरेका छन्। तीमध्ये केही हात्ती राति छुट्टिएर नेपाल प्रवेश गर्ने र किसानका बाली सखाप पार्ने गरेका छन्।

हात्तीको प्रवेश रोक्न र स्थानीयको सुरक्षा सुनिश्चित गर्न सर्वपक्षीय बैठक बसेर सुरक्षाकर्मी, वन रक्षक तथा रेपिड रेस्पोन्स टोली परिचालन गरिएको छ। बैठकले भारतीय वन अधिकारीसँग समन्वय गर्ने, साँझ ६ बजेपछि सीमाक्षेत्रमा सर्वसाधारणको आवतजावत रोक्ने, बस्ती वरिपरि मौसमी तारबार लगाउने, ट्र्याक्टर प्रयोग गरेर हात्ती खेदाउने तथा नगरपालिकाले इन्धन उपलब्ध गराउने निर्णय गरेको छ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च का अध्यक्ष हरिप्रसाद उप्रेती ले सीमाक्षेत्रमा रहेको १८ किलोमिटर लामो सौर्य तारबारको मर्मत प्रक्रिया अघि बढेको जानकारी दिएका छन्। एक दशकअघि जडान गरिएको उक्त तारबारका अधिकांश ब्याट्री फेरिनुपर्ने अवस्थामा पुगेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय र मेचीनगर नगरपालिकाको संयुक्त ३० लाख रुपैयाँ बजेटमा मर्मत गरिने तयारी छ।

मञ्चका पूर्वअध्यक्ष निरज घिमिरे ले बाली पाक्ने समयमा भारतबाट सयौँको सङ्ख्यामा हात्ती नेपाल छिर्ने क्रम दोहोरिने गरेको भन्दै भारत सरकारसँग उच्चस्तरीय वार्ताको आवश्यकता औँल्याएका छन्।

स्थानीय गोपी रिजाल का अनुसार यसपालि हात्तीले पाक्न लागेको मकैबाली सखाप पारेको छ भने सुपारीका बोटसमेत भाँचिदिएको छ। पछिल्ला केही महिनामा हात्तीको आक्रमणबाट तीन जना घाइते भएका छन् भने १५ वटा घरमा क्षति पुगेको छ। स्थानीयले चोरी भएका सौर्य तारबारका ब्याट्री तत्काल प्रतिस्थापन गर्न माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय