नेपालको अर्थतन्त्रमा कृषि निर्यातको योगदान सीमित भए पनि चियाले आफ्नो अलग पहिचान बनाएको छ । इलाम, झापा, पाँचथरलगायत पूर्वी पहाडी भूभागमा उत्पादित नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा गुणस्तरका कारण छुट्टै प्रतिष्ठा कमाएको छ । यस्ता बेला भारतले नयाँ प्रावधान लागू गर्दै नेपाली चिया आयातमा व्यवहारतः अवरोध सिर्जना गर्नु केवल व्यापारिक समस्या मात्र होइन, नेपालको निर्यात संरचनामाथिको गम्भीर चुनौती पनि हो ।
भारतीय टी बोर्डले केन्द्रीय खाद्य प्रयोगशालाबाट अनिवार्य परीक्षण गर्नुपर्ने नयाँ व्यवस्था लागू गरेपछि काँकडभिट्टा–पानीट्यांकी नाकामा नेपाली चिया रोकिएको छ । गुणस्तर परीक्षण आवश्यक विषय भए पनि त्यसको नाममा अत्यधिक ढिलाइ गर्नु र तयारी वस्तु लामो समयसम्म सडकमै राख्न बाध्य बनाउनु अस्वाभाविक देखिन्छ । चिया संवेदनशील कृषि उत्पादन भएकाले समयमै ढुवानी र निर्यात हुन नसके ठूलो आर्थिक क्षति हुन्छ । अहिले उद्योगी र किसानले भोगिरहेको पीडा यही हो ।

नेपालको चिया क्षेत्रले वार्षिक अर्बौं रुपैयाँ विदेशी मुद्रा आर्जन गर्दै हजारौँलाई रोजगारी दिएको छ । ६० हजारभन्दा बढी मानिस प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यस क्षेत्रमा निर्भर छन् । यस्तो अवस्थामा निर्यात अवरुद्ध हुँदा त्यसको असर केवल उद्योगीमा सीमित रहँदैन; किसान, मजदुर, ढुवानी व्यवसायीदेखि स्थानीय अर्थतन्त्रसम्म फैलिन्छ । हरियो पत्ती टिप्ने मुख्य सिजनमै बजार अनिश्चित बनेपछि किसानको उत्पादन चक्र नै प्रभावित हुने खतरा बढेको छ ।
अर्कोतर्फ, भारतसँग नेपालको व्यापारिक निर्भरता फेरि उजागर भएको छ । नेपाली उत्पादनको ठूलो हिस्सा भारतीय बजार हुँदै तेस्रो मुलुक पुग्ने भएकाले भारतको नीतिगत कठोरताले नेपाललाई प्रत्यक्ष असर पार्ने गरेको छ । उद्योगीहरूले उठाएको अर्को गम्भीर प्रश्न अवैध बाटोबाट नेपाली चिया भारत लगेर भारतीय ब्रान्डमा बेच्ने प्रवृत्तिसँग पनि जोडिएको छ । यदि यस्तो भइरहेको हो भने यो व्यापारिक नैतिकतामाथिको प्रश्नसमेत हो ।

