
काठमाडौं । कतारविरुद्धको टीट्वेन्टी शृंखलाको पहिलो खेलमा नेपालले फराकिलो जीत निकालेको छ। कतारको दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले कतारलाई एक सय १९ रनको फराकिलो अन्तरले पराजीत गरेको हो।
नेपालले दिएको एक सय ४७ रनको लक्ष्य पछ्याएको कतारले ११.५ ओभरमा अलआउट हुँदै २७ रन मात्र बनाउन सक्यो। कतारका खालिदा इम्तियाज र एन्जेलिन मरेले समान आठ रन बनाए। यस्तै केरी पन्डसेटले सात रन बनाउँदा रिज्फा इमानुयलले तीन रनको योगदान दिइन्। कतारका सात खेलाडीले खाता खोल्न सकेनन्।

कतारलाई धराशयी बनाउन नेपालकी कप्तान रुबिना क्षत्रीले तीन विकेट लिइन्। यसैगरी सीता रानामगर र कविता कुँवरले दुई÷दुई विकेट लिँदा करुणा भण्डारीले एक विकेट हात पारिन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले अर्धशतकीय पालि खेलिन्। ४७ बलमा पाँच चौका हिर्काएकी इन्दु रिटायर्ड हट भएकी थिइन्।
यसैगरी सीता राना मगरले ३९, सरिता मगरले २१ र कविता कुँवरले आठ रन बनाए। नेपालले २० रन अतिरिक्त रुपमा पाएको थियो। कतारका एन्जेलिन मरे र सबिजा पानयानले एक-एक विकेट हात पारे।
आईसीसी महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोट खेल नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुँदैछ। छनोटमा ६ टोलीको सहभागिता रहने छ। जसमा भुटान, हङकङ, कुवेत, मलेसिया, नेपाल र संयुक्त अरब इमिरेट्सले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले ग्लोबल छनोट खेल्ने छ।
नेपालले आईसीसी महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटको पहिलो खेलमा आगामी सोमबार मंसिर ६ गते हङकङको सामना गर्नेछ। यसैगरी मंसिर ७ भुटान, मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ।
छनोटका लागि नेपालले रुबिना क्षत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाली टोलीमा डली भट्ट, करुणा भण्डारी, ज्योति पाण्डे, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, संगीता राई, सरिता मगर, सरस्वती चौधरी, काजल श्रेष्ठ र सबनम राई छन्। नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमाटाले सम्हालेका छन्। यस्तै टिम ब्यवस्थापकमा जयन्ती भट्ट छिन्।