राजधानी काठमाडौँको व्यस्तता, धुवाँधुलो र गर्मीबाट केही समयको विश्राम खोज्नेका लागि ललितपुरको गोदावरी नगरपालिका–७ स्थित देउराली गाउँ उत्कृष्ट गन्तव्यका रूपमा उदाउँदै गएको छ। करिब तीन हजार मिटरको उचाइमा अवस्थित यस स्थानले एउटै यात्रामा तीन फरक मौसमको अनुभूति गराउँदै प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ग्रामीण संस्कृतिको अनुपम संगम प्रस्तुत गर्छ।

शनिबार सम्पादक समाज नेपालले आयोजना गरेको ‘वातावरणका लागि पदयात्रा’ कार्यक्रममा सहभागी पदयात्रीहरूले देउराली पुग्दा अनौठो मौसमको अनुभव गरे। डाँडा उक्लिँदै गर्दा चर्को घाम लागे पनि केही क्षणमै कुहिरो, चिसो बतास र वर्षाले वातावरण नै फेरियो। आगन्तुकहरूले केही समयमै गर्मी, शीतलता र हिमाली चिसोपनको अनुभव गर्न पाए, जसले देउरालीलाई विशेष बनाएको छ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनका अनुसार पहाडको फेदीमा तराईजस्तो न्यानोपन, देवीचउरतिर शीतल मौसम र देउरालीमा हिमाली वातावरणको झल्को पाइन्छ। इलामको अन्तुडाँडा र धरानको भेडेटारजत्तिकै आकर्षक सम्भावना बोकेको यो क्षेत्र अझै पर्याप्त प्रवर्द्धनको पर्खाइमा रहेको उहाँको भनाइ छ।

देउराली प्राकृतिक सौन्दर्यका साथै धार्मिक र सांस्कृतिक सम्पदाले पनि समृद्ध छ। दुधेश्वरी देवीको मन्दिर, वज्रबाराही, श्वेतबाराही, विशङ्खुनारायणलगायतका धार्मिक स्थल नजिकै रहेकाले हाइकिङसँगै तीर्थाटन पनि गर्न सकिन्छ। मुख्यतः तामाङ समुदायको बसोबास रहेको यस क्षेत्रमा होमस्टे सञ्चालनमा छन्, जहाँ पर्यटकले स्थानीय अर्गानिक परिकार र ग्रामीण जीवनशैलीको स्वाद लिन सक्छन्।

वडाध्यक्ष मथुरा बजगाईंका अनुसार पर्यटन र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाएर स्थानीयको आर्थिक अवस्था सुधार्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। भ्यूटावरबाट सम्पूर्ण काठमाडौँ उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने तथा पिकनिक स्थलहरूको व्यवस्थापनले पनि आन्तरिक पर्यटनलाई थप आकर्षित गरेको छ।

पदयात्रापछि आयोजित अन्तरक्रियामा सहभागी वक्ताहरूले देउराली क्षेत्रको प्राकृतिक वातावरण जोगाउँदै दिगो पर्यटन विकास गर्न सञ्चारमाध्यम, स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको औँल्याए। राजधानीबाट छोटो दूरीमै रहेको देउरालीले प्राकृतिक विविधता, धार्मिक महत्व र ग्रामीण आतिथ्यलाई एकैसाथ समेटेकाले भविष्यमा नेपालको प्रमुख आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बन्ने प्रबल सम्भावना बोकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय