
काठमाडौं । अमेरिकी सहयोग सम्झौता (एमसीसी)अन्तर्गतको परियोजनाको काम नेपालमा अघि बढ्न नसकिरहेको बेला अमेरिकाले नेपालमा चासो बढाएको छ ।
एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणबाट फर्किएको दुई महिना नवित्दै दक्षिण एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लु नेपालको तीन दिने भ्रमणका लागि हिजो साँझ काठमाडौं आईपुग्नु भएको छ भने अमेरिकी उपसहायक विदेशमन्त्री केली केइडरलिङ आज नेपाल आईपुग्ने क्रममा हुनुहुन्छ ।

सहायक विदेशमन्त्री लुले आज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले भोलि परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट गर्ने र नेपाल बसाइका क्रममा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाहरुको अवलोकन गर्ने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उता, काठमाडौँस्थित अमेरिकी राजदूतावासले पनि सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने जनाएको छ । लु नेपालमै रहेको बेला दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङ पनि आज काठमाडौँ आइपुग्दै हुनुहुन्छ ।