काठमाडौं । पटक–पटक महाधिवेशनको मिति सार्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पनि मंसिरको ११ देखि १३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्दैछ । २०७६ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा(संयुक्त) बीच पार्टी एकीकरण भएपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो ।

त्यतिबेला एकीकृत राप्रपाको महाधिवेशन डेढ वर्षभित्र गर्ने बताइए पनि कोरोना महामारीको कारण देखाउँदै महाधिवेशन सारियो । कुनै प्राकृतिक विपत्ति आइनलागे अब चाहिँ महाधिवेशन नसर्ने वताइएको छ ।

११ गते महाधिवेशन गर्ने तयारीमा रहेको राप्रपाले महाधिवेशन प्रतिनिधि छनोट भने गरिसकेको छैन । प्रतिनिधि छनोट मंसिर ३ देखि ५ गतेसम्म सक्नेगरी कार्यतालिका तय गरिएको छ । अहिले राप्रपामा कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी तीन अध्यक्ष हुनुहुन्छ । महाधिवेशन पछि भने एक जनामात्रै अध्यक्ष रहनेछन् ।

राप्रपामा अध्यक्षका लागि थापा, राणा, डा.लोहनी, राजेन्द्र लिङ्देन, धवल शमशेर राणा र जगत गौचनले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । तर, औपचारिक घोषणा भने भएको छैन । २०७४ को निर्वाचनपछि राप्रपा संसदमा खुम्चिएको छ । त्यसअघि सरकार बनाउने र गिराउने हैसियतमा रहेका राप्रपाले २०७४ को निर्वाचनमा संघीय संसदमा एक सिटमात्रै जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय