भारतमा युवामा बढ्दै गएको असन्तुष्टि र सरकारप्रतिको मौन आक्रोश अहिले सडकमा पोखिन थालेको छ। केही महिनाअघि सुरु भएको ‘कक्रोच जनता पार्टी’को नेतृत्वमा भइरहेको भनिएको युवा आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका लागि ठूलो जनदबाबका रूपमा देखा परेको छ।
राष्ट्रियस्तरका प्रवेश परीक्षा तथा सरकारी जागिरका परीक्षामा पटक–पटक प्रश्नपत्र चुहावट भएको आरोप, बढ्दो बेरोजगारी, शिक्षा प्रणालीप्रतिको अविश्वास र सरकारी जवाफदेहिताको माग गर्दै सामाजिक सञ्जालबाट सुरु भएको विरोध अहिले आमरण अनशन हुँदै सडक आन्दोलनमा परिणत भएको छ।

अनलाइन व्यंग्यबाट सुरु भएको अभियान अहिले भारतको राजधानी नयाँ दिल्लीदेखि विभिन्न प्रमुख सहरका सडकसम्म फैलिएको छ। शिक्षा प्रणालीमा देखिएको भनिएको धाँधली, बेरोजगारी र प्रशासनिक गैरजवाफदेहिताविरुद्ध सुरु भएको यो प्रदर्शन अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ।
सन् २०१४ देखि निरन्तर सत्तामा रहेको भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि विद्यार्थी तथा युवाले ठूलो दबाब सिर्जना गरेका छन्। यसअघि किसान आन्दोलन, नागरिकता संशोधन ऐनविरुद्धको प्रदर्शन तथा निजीकरणविरुद्धका विभिन्न आन्दोलन झेलेको भाजपा सरकारका लागि पछिल्लो युवा आन्दोलन अर्को ठूलो चुनौती बनेको छ।
प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले विगतमा नागरिक तहबाट उठेका विभिन्न असन्तुष्टिलाई राजनीतिक रूपमा व्यवस्थापन गर्दै आएको भए पनि अहिलेको विद्यार्थी आन्दोलन सहजै नियन्त्रण गर्न कठिन हुने देखिएको छ। आन्दोलनकारीले सरकारसँग पटक–पटक वार्ताको आग्रह गरे पनि अहिलेसम्म ठोस सहमति हुन नसकेको उनीहरूको दाबी छ। बरु आन्दोलन थप चर्किँदै गएको छ।
आन्दोलनकारीले शिक्षामन्त्रीको राजीनामा नआएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। सरकारको दमनप्रति असन्तुष्टि बढ्दै गएपछि आन्दोलनकारीका माग शिक्षामन्त्रीको राजीनामाबाट माथि उठेर गृहमन्त्री र प्रधानमन्त्रीको राजनीतिक जवाफदेहितासम्म पुग्न थालेका छन्।

