
काठमाडौं। चितवन को-ई समुहअन्तर्गतको मनकामना दर्शन प्रालिले मनकामना केबल कारको टप स्टेशन (गोर्खा) मा रिसोर्ट निर्माण गर्ने भएको छ। रिसोर्टमा कुल ३५ करोड १८ लाख रुपैयाँ लगानी हुने कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले बताए।
कुल ४० कोठा क्षमताको हुने उक्त रिसोर्ट लग्जरी सेगमेन्टको हुने उनको भनाइ छ। अबको डेढ वर्षभित्र निर्माण सम्पन्न गरेर संचालनमा ल्याइसक्ने रिसोर्ट नौ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ।

मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय प्रवर्द्धन गर्ने उद्धेश्यले रिसोर्ट संचालनमा ल्याउन लागिएको श्रेष्ठले बताए। रिसोर्ट संचालनमा आएसँगै स्थानीय रोजगारी सिर्जना र स्तरीय पर्यटकको आवगमनमा वृद्धि हुने उनको विश्वास छ। रिसोर्टमा स्ट्याण्डर्ड रेष्टुरेण्ट, एक सय जना क्षमताको कन्फ्रेन्स हल लगायतका सुविधा समेत रहने श्रेष्ठले जानकारी दिए।
रिसोर्टबाहेक हाल संचालनमा रहेको मनकामना केबलकारको पनि व्यापक स्तरोन्नती गर्न लागिएको बताइएको छ। स्तरोन्नतीमा मात्र करिब ३० करोड रुपैयाँ खर्च हुने श्रेष्ठले बताएका छन्। केबलबार स्तरोन्नती र नयाँ रिसोर्ट निर्माणमा गरी कुल ६५ करोड रुपैयाँ खर्च गर्ने योजना चितवन को-ईले बनाएको छ।