
काठमाडौ । माधव नेपाल–झलनाथ खनालको एमालेबाट बहिर्गमनपछि झन् शक्तिशाली बन्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारीका लागि आकांक्षीहरूको संख्या अत्यधिक हुँदा आफैँ संकटमा पर्नुभएको छ ।
थप नेताहरूको व्यवस्थापनका लागि दुई महिना बित्दा–नबित्दै दुई उपाध्यक्ष र दुई महासचिवको पद थप्ने प्रस्ताव केन्द्रीय कमिटीमा लगेर विधान संशोधन भइसकेको छ । बरिष्ठ उपाध्यक्ष, महासचिव जस्ता पदमा सर्वसम्मति कायम गर्न ओलीलाई हम्मे परेको छ ।

यसअघिसम्म ओलीका अनुयायी मानिनुभएका सुवास नेम्वाङले बरिष्ठ उपाध्यक्ष, विष्णु पौडेल र शंकर पोखरेलले महासचिवमा दावेदारी नछाडेर ओलीलाई अप्ठ्यारोेमा पारिदिएका छन् । संविधान सभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले ‘बरिष्ठ उपाध्यक्ष’ मा प्रतिस्पर्धा गर्ने अडान कायम राख्नुभएको छ ।
अध्यक्ष ओलीले नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिँदासमेत उहाँ टसमस हुनुभएको छैन । उहाँले जनमतको जिम्मा कसले लिन्छ भन्ने प्रतिप्रश्न अध्यक्षलाई नै गर्नुभएको छ । दुवैको दाबी कायम रहे नेम्वाङ र पोखरेलबीच प्रतिस्पर्धामा हुनेछ ।
यसैगरी महासचिव पदका लागि पनि ओलीका अत्यन्त निकटका नेताद्वय विष्णु पौडेल र शंकर पोखरेलको दाबेदारी छ । तर, दुबैले महासचिवको दावेदारी त्यागेका छैनन् । यसले गर्दा थप गरिएका दुई उपाध्यक्ष र उपमहासचिवमा कसलाई ल्याउने भन्ने समस्या ओलीलाई परिसकेको छ ।