
कास्की । अन्नपूर्ण केबलकारको केही दिनमा परीक्षण हुने भएको छ । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा केही ढिलो गरी केबलकार परीक्षण हुन लागेको अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङले बताए । उनले भने, “अब हामीले अंग्रेजी नयाँ वर्षदेखि अनौपचारिक रुपमा केबलकार सञ्चालन गर्छौं । फेव्रुअरीदेखि व्यावसायिक रुपमै केबलकार सञ्चालन हुने गरी तयारी गरेका छौं ।”
अन्तराष्ट्रिय मापदण्ड अनुसार सबै प्रकारको चरण पार गरेपछि मात्र व्यावसायिक रुपमा सञ्चालन गर्ने उनको कथन थियो । अत्याधुनिक प्रविधिमा आधारित उपकरण जडान भएकोले पूर्ण सुरक्षित हुने उनको दावी थियो ।

केबलकारमा कालु गुरुङ सहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भए पनि यो केबलबार नयाँ प्रविधि प्रयोग भएको अध्यक्ष गुरुङले बताउँदै आएका छन् ।
माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निर्माण भएको छ । अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ३० मिनेट लाग्छ । नेपालीहरुको लागि केबलकारमा जाने र आउने शुल्कः ६ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।