
चितवन । एमालेको दसौं महाधिवेशनको बन्दसत्र हलमा अध्यक्षमण्डलका तर्फबाट केपी शर्मा ओलीले आइतबार राति प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीलाई निवर्तमान उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले अस्वीकार गरेपछि अन्तत निर्वाचन हुने भएको छ ।
अध्यक्षमा उम्मेदवारी रावलले दिने भएका छन् । भुसालले पनि सूचीबाट लोकतन्त्रको चिरहरण भएको भन्दै उपाध्यक्षकम भिड्खे भएका छन् । उनीहरूले ओलीको सूचीलाई अस्वीकार गरेपछि अन्ततः अध्यक्षसहितका केही पदमा निर्वाचन हुने भएको छ ।

निवर्तमान महासचिव इश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष हुँदा भीम रावल, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष प्रस्ताव गरिएको छ। उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई प्रस्ताव गरिएको छ ।
पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची अध्यक्ष ओलीले बन्दसत्रमा पेस गरेका थिए । उनले सचिवमा गोकर्ण बिष्ट र योगेश भट्टराईलाई प्रस्ताव गरेका थिए। उपाध्यक्षमा प्रस्तावित भीम रावल र उपमहासचिवमा प्रस्तावित घनश्याम भुसालले चुनाव माग गरिरहेपछि अध्यक्षलगायतका केही पदमा निर्वाचन हुने भएको हो ।
त्यसो त पार्टीभित्रको विवादमा नेता नेपाललाई साथ दिए पनि अन्तिम समयमा एमालेमा नै अडिएका भीम रावल पनि वरिष्ठ उपाध्यक्षका आकांक्षी थिए । वरिष्ठ उपाध्यक्ष नपाउने भएपछि उनी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न तम्सिएका हुन् । त्यति हुँदाहुँदै पनि आफूपछिको वरियता रावललाई दिन ओली कुनै हिसाबले पनि तयार नभएका कारण वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पोखरेलले पाएका हुन् ।