काठमाडौं । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरूले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने वताएका छन् ।

आइतवार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाए मात्रै बारको आन्दोलन रोकिने बताए । उनले प्रधानन्यायाधीश जबरा कानूनी र कागजी रुपमा प्रधानन्यायाधीश पदमा हालसम्म कायम रहेको भए पनि व्यावहारिक रूपमा भने सो पदमा नरहेको जिकिर गरे ।

उनले प्रधानन्यायाधीशलाई कसैले स्वीकार नगर्दा पनि जनतालाई दुःख दिएर अदालत ठप्प पारेको आरोप लगाए । उनले भने– ‘प्रधानन्यायाधीश व्यावहारिक रूपले अब त्यो पदमा हुनुहुन्न । उहाँ आफ्नो कार्यालयमा नआएको पनि ६, ७ दिन भइसक्यो । उहाँसँग अब कसैले पनि बेञ्च शेयर गर्नुहुन्न । र, उहाँको उपस्थितिमा न्याय परिषद्, न्याय सेवा आयोग र संवैधानिक परिषद्को मिटिङ पनि बस्नेवाला छैन भनेपछि व्यवहारमा उहाँले प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्न नपाउने भइसकेपछि उहाँले ढिपी गरेर, राजीनामा नदिएर सारा जनताको मुद्दालाई अस्तव्यस्त पारेर, यो अदालतलाई ठप्प पारेर के सन्देश दिन खोजेको हो, हामीले बुझेका छैनौँ । उहाँलाई हामीले के भनेका छौँ भनेदेखि, राजनीतिकर्मीहरूले संसदबाट उहाँलाई महाअभियोगको प्रक्रिया लगाएर हटाउने सम्भावना जब रहन्छ तब हाम्रो यो कार्यक्रम हामी रोक्छौँ ।’

अधिवक्ता अनन्तराज लुँइटेलले आगामी दिनमा न्यायपालिकामा गरिने नियुक्ति वैज्ञानिक ढंगले गर्नुपर्ने बताए । अहिले न्यायपालिकाको मान, सम्मान र प्रतिष्ठा समाप्त भएको भन्दै उनले बारको आन्दोलनलाई न्यायपालिका सुधारको कोशेढुंगा साबित गराउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय