
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आसन्न महाधिवेशनमा फेरि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सोमबार आयोजित कार्यक्रममा थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। “पार्टीलाई कहिल्यै फुट्न नदिने र नफुटाउने सङ्कल्पका साथ पार्टीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दछु,” उनले भने।

हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनको काम बाँकी भएकाले आफूले अध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ थियो। “केही नगरी नहुने काम बाँकी छन्। ती कामलाई अधुरै छाडेर बस्न मिल्दैन,” थापाले भने, “सनातन हिन्दू राष्ट्र आवश्यक छ। भूराजनीतिक कारणले राजसंस्था आवश्यक छ। मुलुकले संघीयता धान्न सक्दैन।”
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई पनि सहमतिमा आउन थापाले आग्रह गरे। यो एकताको महाधिवेशन भएकाले सहमति र सहकार्यबाट नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ थियो।
थापाले भने, “हिन्दू राष्ट्रको अजेन्डा कमजोर होस्, राजतन्त्रको मुद्दा कमजोर होस् भन्नेहरूलाई खुशी हुन दिनु हुँदैन।”
केही दिनअघि लिङदेनले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। उनको समूहबाट धवलशमशेर राणाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।
राप्रपाको महाधिवेशन १५ देखि १७ मंसीरमा काठमाडौंमा हुने तय भएको छ।