
काठमाडौ । करिब पाँच वर्षदेखि छलफलमै अड्किएको स्वचालित पेसी प्रक्रिया सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियाबाट निर्धारण हुने भएको छ । प्रधानन्यायाधीशबाट पेसी तोक्ने अधिकार खोसिएर गोला प्रणाली लागु हुने भएको हो ।
अब प्रधानन्यायाधीशको चाहनाअनुसारको इजलासमा मुद्दा पार्ने प्रवृत्तिको अन्त्य हुनेछ भने वर्षौंदेखि थन्किएका मुद्दाले पनि पालो पाउनेछन् । मुद्दाको पेसीका विषयमा न्यायालयमा बारम्बार भइरहने विवाद अन्त्य हुने,बिचौलिया,भ्रष्टाचारजस्ता विकृति घट्ने अपेक्षासमेत गरिएको छ ।
न्यायपालिकाको थालनीदेखि अहिलेसम्म सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीशले दैनिक रूपमा मुद्दाका पेसी तोक्दै आएका छन् । प्रधानन्यायाधीशको मनपरीले लामो समयसम्म मुद्दामा पालो नपाउने,आफूखुसी चलेको,पारदर्शी नभएको, बिचौलिया र भ्रष्टाचार बढेको व्यापक गुनासो आएपछि सुधारका लागि विकल्प खोजिएको थियो ।

यसअघि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले न्यायालय सुधारका लागि अटोमेसनबाट पेसी तोक्न सुझाव दिएको थियो। सर्वोच्चमा राफल(गोला प्रक्रिया) प्रणालीबाट पेसी तोक्ने विषयमा निकै छलफल भए पनि प्रक्रियामा जान सकेको थिएन ।
आन्दोलनमा रहेका न्यायाधीशहरूको अडानका कारण सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रक्रिया लागू गर्न संशोधित नियमावली र निर्देशिका पास गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालत दोस्रो संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि मंसिर १५ देखि लागु हुने निर्णय पूर्ण बैठकले गरेको थियो ।