
काठमाडौं । कलाकार तथा लेखक धर्मराज शाक्यद्वारा लिखित पुस्तक ‘हस्तकलाको ऐतिहासिक पक्ष’ विमोचन भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक कार्यक्रमका बीच उक्त कृतिको लोकार्पण गर्दै समाजमा हस्तकलाको महत्व विशिष्ट रहेको बताए । उनले भने, ‘हस्तकलाको ऐतिहासिक महत्वलाई लेखकले पुस्तकमार्फत ल्याउन सफल भएको देखिन्छ ।
कुलपति कर्माचार्यले पुस्तकले नेपालको हस्तकलाको इतिहासदेखि वर्तमानसम्म चलेका र बनेका विषयको समेत यथेष्ट जानकारी दिएको विचार व्यक्त गरे । उनले भने, ‘नेपाली हस्तकलाको इतिहास निकै लामो र समृद्ध रहेको छ । पुस्तकमा हस्तकलाको विविध पक्षलाई केलाएर लेखकले यो क्षेत्रमा महत्वपूर्ण गुन लगाउनुभएको छ ।’ कुलपति कर्माचार्यले पछिल्लो समय प्रतिष्ठानले खोजमूलक ढंगले पुस्तक प्रकाशन गरिरहेको जानकारी दिए ।

प्रतिष्ठानको हस्तकला विभागले प्रकाशन गरेको पुस्तकमाथि चर्चा गर्दै संस्कृतिविद् डा. गोविन्द टण्डनले नेपाली संस्कृति र कलाको संरक्षण तथा संवद्र्धनका लागि निरन्तर खोज अनुसन्धान हुनुपर्नेमा जोड दिए । उनले लेखक आफै कुशल शिल्पी, कला र संस्कृति विषयका अध्येता भएकाले निकै गहन ढंगले खोज–अनुसन्धान गरी पुस्तक तयार पारेको बताए । टण्डनले भने, ‘नेपालमा हस्तकलाको विकासको लामो परम्परा रहेको छ । साथै देशको अर्थतन्त्रमा समेत ठूलो योगदान रहेको छ ।’ उनले हस्तकलाको विकासमा प्रतिष्ठान, नेपाल हस्तकला महासंघ तथा राज्यले गहन ढंगले काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा समालोचक तेजविलास अधिकारीले पुस्तकमाथि समीक्षा गर्दै हस्तकलाका विविध पाटालाई बुझ्न र अध्ययन गर्न सार्वजनिक कृति निकै उपयोगी रहेको बताए । उनले भने, ‘लेखकले खोजमूलक ढंगले पुस्तक ल्याउनुभएको छ ।
यसले नेपालको हस्तकलाको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा शिल्पगत विषयलाई उजागर गर्न सफल भएको छ ।’ समालोचक अधिकारीले हस्तकलाका बारेमा विमोचित कृतिले बहसलाई अगाडि बढाएको जिकिर गरे । उनले देशका तीन तहका सरकारले हस्तकलाको विकास, प्रवद्र्धन र सशक्तिकरणमा काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालको मौलिक पहिचानका रुपमा चिनिएका हस्तकलालाई राज्यका संयन्त्रले चिन्नुपर्दछ र यस क्षेत्रमा काम गर्ने कलाकार तथा शिल्पीको योगदानको कदरसमेत गर्नुपर्दछ ।’
प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले प्रतिष्ठानले नेपालका विविध कला र शिल्प ज्ञानलाई खोज अनुसन्धान गर्दै प्रकाशन गरिरहेको सुनाए । उनले शाक्यले निकै मिहिनेतपूर्वक पुस्तक लेखेको जनाउँदै नेपालको मौलिक परम्परागत हस्तकलाका बारेमा समेत निकै उपयोगी रहेको बताए । नेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्रभाई शाक्यले हस्तकलाको महत्व र आवश्यकतालाई पुस्तकमा केलाइएको धारणा व्यक्त गरे ।
प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले विमोचित कृतिले नेपाली हस्तकलाको इतिहासदेखि वर्तमानसम्मको चित्रलाई केलाएको बताए । उनले भने, ‘हस्तकलाका बारेमा यस कृतिले सम्पूर्ण जानकारी दिएको छ । प्रतिष्ठानले आगामी दिनमा यस्तै गहन र खोजमूलक कृति प्रकाशन गर्दै जाने विश्वास दिलाउँछु ।’
नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले हस्तकलाको सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा प्रविधिगत विषयलाई गहनतापूर्वक लेखकले उधिन्न खोजेको बताए । उनले भने, ‘प्रतिष्ठानले यस्तै खोजमूलक कृति प्रकाशन गर्नुपर्दछ । जसले नेपालको मौलिक तथा परम्परागत विषयलाई विश्वमा चिनाउन सकोस् ।’
पुस्तकका लेखक तथा प्राज्ञ धर्मराज शाक्यले पुस्तक लेखनका क्रममा आफूले भोगेका विषयको उल्लेख गर्दै हस्तकलाको महत्व र नेपालको अर्थतन्त्रमा दिएको योगदानका विषयको चर्चा गरे । उनले भने, ‘नेपालको हस्तकलाको विषय र क्षेत्र व्यापक रहेको छ । परम्परादेखि आधुनिक पक्षका बारेमा समेत पुस्तकमा चर्चा गरिएको छ ।’ उनले आगामी दिनमा थप अनुसन्धान गरी लेखनकार्यलाई अघि बढाउने बताए । लेखक शाक्यले नेपालको अर्थतन्त्रमा वार्षिक १२ अर्बभन्दा बढीको व्यापारका हस्तकलाले योगदान दिइरहेको जानकारी दिए ।