
एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा पीएसजी निससँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदान पार्क डेस प्रिन्सेसमा ७१ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा पीएसजी बराबरीमा रोकिन बाध्य बन्यो । पीएसजीले गोल गर्ने सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

सातौं बालोन डी’ओर जितेका लियोनल मेसी, एम्बाप्पेसहितको पिएसजी घरेलु मैदानमा गोल गर्न सकेन । चोटका कारण नेइमार मैदान बाहिर छन् ।
खेलभर पीएसजीले निसको गोलपोस्ट २२ पटक प्रहार गरेपनि गोल गर्न सकेन । २२ पटक प्रहार गर्दा ५ पटक मात्रै तार्गटमा लागेको थियो ।
खेल सुरु हुनअघि मेसी आफूले पाएको सातौं बालोन डी’ओरसहित प्रस्तुत भएका थिए । उनलाई समर्थकले तालीले बधाई दिएका थिए ।
यो बराबरीसँगै पिएसजी १६ खेलबाट ४१ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । निसले २७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।