
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्वका लागि शनिबार आज निर्वाचन हुँदैछ । ३ दिनदेखि जारी एकता महाधिवेशनको आज निर्वाचन हुन लागेको हो ।
प्रत्येक ४ वर्षमा हुने महाधिवेशनमा यो पटक भने ३ अध्यक्ष रहेको राप्रपाले एक अध्यक्ष चुन्ने छ । यसअघि एकीकरण हुँदा पार्टीमा ३ अध्यक्ष थिए । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनमा विहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा हुने छ ।

जसमा अध्यक्षका लागि पूर्वअध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्देन भिड्नेछन् । राप्रपाको अध्यक्ष पदका लागि मतपत्रबाटै निर्वाचन हुने भएको छ । त्यस्तै पदाधिकारी र केन्द्रीय सदस्यमा भने विद्युतीय मतदानको व्यवस्था गरिएको छ । राप्रपाको जारी एकता महाधिवेशनबाट १९९ सदस्यीय नयाँ कार्यसमिति बन्नेछ । जसका लागि २ सय ६६ जनाले दिएका छन् ।
देशभरबाट राप्रपाका चार हजार ७ सय प्रतिनिधिले नयाँ नेतृत्वका लागि मतदान गर्नेछन् । राप्रपामा एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारी रहने व्यवस्था रहेको छ ।
एकता महाधिवेशनअन्तर्गत नेतृत्व लिन अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी दिएका छन्। उनीहरूले पदाधिकारीमा आआफ्नो टिम बनाएर मनोनयन दर्ता गरेका छन्।
उपाध्यक्षका ४ पदमा जगतप्रसाद गौचन, रामचन्द्र राय यादव, लीलादेवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, बुद्धिमान तामाङ, दुर्गा श्रेष्ठ र ध्रुवबहादुर प्रधानको उम्मेदवारी परेको छ। राप्रपाको विधानमा चार उपाध्यक्षमध्ये कम्तीमा एक सिटमा महिला निर्वाचित हुनुपर्ने व्यवस्था छ।
उपाध्यक्षमा उम्मेदवारी दिनेमध्ये बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की कमल थापाको टिमका हुन्। विक्रम पाण्डेलाई दुवै टिमले आआफ्नो सूचीमा राखेका छन्। दुर्गा श्रेष्ठले टिमभन्दा बाहिरबाट उम्मेदवारी दर्ता गरेको बताइएको छ।
यसैगरी महामन्त्रीका तीन पदका लागि रेखा थापा, कुन्तीकुमारी शाही, धवलशमशेर राणा, श्यामप्रसाद तिमिल्सेना, भुवनकुमार पाठक र भाष्कर भद्राले उम्मेदवारी दिएका छन्। महामन्त्रीमा पनि एकजना अनिवार्य महिला हुनुपर्छ।