पर्सा । मुलुकको प्रमुख स्थलमार्ग रहेको पर्सामा कोभिड १९ विरुद्ध तीनदिने विशेष खोप अभियान चलाउन थालिएको छ।

कोभिड १९ को पहिलो र दोस्रो लहरमा रेडजोनको रूपमा रहेको पर्सामा ओमिक्रोन भाइरसको अर्को लहर आउनुपूर्व खोप अभियानलाई तीव्रता दिन थालिएको हो।

अहिले यो जिल्लामा १८ वर्षमाथिका कुल २९ दशमलब ६७ प्रतिशत बासिन्दाले कोरोनाविरुद्धको खोप लगाएका छन्। यही मंसिर २२, २३ र २४ गते गरी तीन दिन यो प्रतिशत बढाएर ६६ प्रतिशतमा पुर्‍याउन लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

२९ बाट ६६ प्रतिशत पुर्‍याउने लक्ष्य

पर्सामा अहिलेसम्म १ लाख ३२ हजार ६ सय २८ जनाले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन्। आगामी ३ दिनभित्र भने १८ वर्षभन्दा माथिका अरूलाई पनि खोप लगाएर १८ वर्षमाथिको उक्त कुल संख्यामध्ये ६६ प्रतिशत पुर्‍याउन लागिको जिल्ला खोप समन्वय समिति पर्साका संयोजक समेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

विशेष खोप अभियानका लागि पर्सामा अहिले ४३ हजार मात्रा खोप आइसकेको छ। त्यसैगरी थप ६० हजार मात्रा पनि प्रादेशिक खोप स्टोर पथलैयामा तयारी अवस्थामा राखिएको खोप समन्वय समिति पर्साले जनाएको छ।

ग्रामीण क्षेत्रमा खोपको खासै महत्त्व प्रभावकारी नभएपछि जिल्लाभर विशेष अभियान थाली कोभिड १९ बाट बच्न र बचाउन ठोस पहल थालिएको हो।​

दुवै मात्रा लगाउने नागरिकको संख्या पर्सामा १ लाखभन्दा कम

खोप लगाएका नागरिकहरूमा पनि दुवै मात्रा लगाएका व्यक्तिको संख्या ९८ हजार १ सय २१ मात्र छ। बाँकी ३४ हजार ५ सय ७ जनाले भने जनसनको एक मात्रा मात्रै खोप लगाएका छन्।

जिल्लामा धेरै मानिस खोप लगाउनबाट छुटेकोले ‘हाम्रो खोप हाम्रो सुरक्षा, खोप लगाऔं सुरक्षित बनौं’ भन्ने नारासहित खोप अभियान नै थालिएको उनको भनाइ छ।

पर्सामा खोपको प्रकार अनुसार डबल मात्रा खोप लगाउनेहरूमा ९ हजार ७ सय ६४ जना कोभिसिल्ड, ६६ हजार ३ सय ७५ जना भेरोसेल र २१ हजार ९ सय ८२ जनाले एष्ट्राजेनेकाको दुवै मात्रा लगाएको जिल्ला खोप समन्वय समितिले जनाएको छ।

३४ हजार ५ सय ७ जनाले भने जनसन एक मात्रा डोज मात्र लगाएको पनि तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय