
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि पदाधिकारीका उम्मेदवार छान्न सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुलाई बुधबार बिहान ९ बजे बैठक बोलाएका छन् ।
निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा आफूनिकट नेताहरुमध्ये क–कस्लाई पदाधिकारीका उम्मेदवार छान्ने बारेमा छलफल हुने बताइएको छ ।

सभापतिमा देउवाले उम्मेदवारी दिने पक्का छ भने उपसभापतिमा हालसम्म चारजनाको दाबी रहेको बुझिएको छ । ४ जनामध्ये २ जनालाई चयन गरिने बताइएको छ ।
बालुवाटार जग्गा प्रकरणको मुद्धा खेपेका कांग्रेसका उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का उपसभापतिका लागि मुख्य दाबेदारीका रुपमा प्रस्तुत भएका छन् ।
यसैगरी महामन्त्रीमा वर्तमान सहमहामन्त्री प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, एनपी साउद, रमेश लेखक र प्रवक्ता विश्वप्रकाश शर्माको दाबी रहेको बुझिएको छ ।
यसैगरी खसआर्यतर्फको सहमहामन्त्रीमा मोहन बस्नेत, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराईलगायतले दाबी गरेका छन् भन् अन्य पनि आकांक्षी रहेका छन् । सहमहामन्त्रीमा दलिततर्फबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, लक्ष्मी परियार र सुजाता परियार मुख्य दाबेदार हुन् ।
सहमहामन्त्रीतर्फ नै मुस्लिम कोटामा देउवा समूहबाट फर्मूल्लाह मन्सुर र अत्तहर कमाल मुसलमानको दाबेदारी छ । महिलातर्फको सहमहामन्त्रीमा चित्रलेखा यादव, पुष्पा भुसाल, डीना उपाध्याय, डा. डिला संग्रौला, ईश्वरी न्यौपाने र अम्बिका बस्नेतलगायतको दाबेदारी छ ।
आदिवासी जनजातिको कोटाबाट सहमहामन्त्री भीष्मराज आङ्देम्बे, चीनकाजी श्रेष्ठ र बहादुर लामाको दाबेदारी छ । मधेसीफतर्फ सहमहामन्त्रीमा महेन्द्र यादव, अजय चौरासिया, महेश चौरसिया, जंगीलाल राय, रामसरोज यादवलगायतको दाबेदारी छ । थारुतर्फको सहमहामन्त्रीमा रामजनम चौधरी र योगेन्द्र चौधरीको दाबेदारी छ ।