
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि काठमाडौमा शुरु हुँदैछ । भृकुटीमण्डपस्थित महाधिवेशनस्थलको साज-सजावट लगायतका सम्पूर्ण तयारी पुरा भएको छ ।
मञ्चलगायत झण्डा र पर्चा-पम्पलेटले महाधिवेशनस्थलमा सिँगारिएको छ । पार्टी सभापति प्रधानमन्त्री शेरवहादुर देउवाले आज दिनको १ बजे महाधिवेशनको उदघाटन गर्नुहुने कार्यक्रम छ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि पहिलोपटक हुन लागेको नेपाली कांग्रेसको यो महाधिवेशन देशको लोकतन्त्र र विकसित संसदीय शासन प्रणालीको अभ्यासका साथै लोकतान्त्रिक मूल्यमान्यता र विधि र पद्धतिको निरन्तरताका लागि निकै महत्वपूर्ण मानिएको छ ।
स्थापनाकालदेखि नै संसदीय प्रजातान्त्रिक व्यवस्था अंगिकार गरेको मुलुकको सबैभन्दा जेठो राजनीतिक पार्टी नेपाली कांग्रेसले संसदीय शासन प्रणालीको स्थायित्व र विकासका लागि विभिन्न समय र कालखण्डहरुमा क्रान्ति र संघर्षको नेतृत्व गरेको इतिहास छ ।
देशमा बहुदलिय संसदीय शासन प्रणालीको स्थायित्व र विकासका लागि कटिबद्ध रहेको नेपाली कांग्रेसको यस महाधिवेशनले तय गर्ने राजनीतिक कार्यदिशा र नेतृत्व आम मुलुकका लागि यतिखेर चासो र सरोकारको बिषय बनेको छ ।
महाधिवेशनमा मुलत: नीति र नेतृत्वको विषयमा वहस केन्द्रीत हुने छ । महाधिवेशननमा सहभागी हुन देशभरीका करीव ४ हजारभन्दा बढी प्रतिनिधिहरु काठमाण्डौं आइसकेका छन् ।
यसैगरी भारत लगायत विभिन्न मुलुकका पाहुनाहरु पनि काठमाण्डौं आइपुग्नु भएको पार्टीले जनाएको छ । उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरलाई आमन्त्रण गरिएको छ ।