
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीयको १४औँ महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ । अहिले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि राष्ट्रिय सभागृह दुई र भृकुटीमण्डपमा एक गरी तीनवटा मतदान केन्द्र निर्माण गरिएको छ । ती केन्द्रमा निर्माण गरिएको एक हजार एक सय बुथमा मतदान गर्नुपर्नेछ ।

मतदान सहजिकरणका लागि स्वयंसेवकहरु परिचालन गरिने भएको छ । सभापति लगायत पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान हुने भएकाले एकै जनालाई आधा घन्टा भन्दा बढी समय लाग्नसक्ने अनुमान गरिएको छ । मतदान शान्तिपूर्ण ढङ्गले गराउन सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।
मतदानस्थल लगायत समग्र सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । मतदानका लागि ८७ वटा मत पेटीका व्यवस्था गरिएको छ । हरेक मतदान केन्द्रमा २९/२९ वटा मतपेटीका राखिने पनि निर्वाचन समितिले जनाएको छ ।
गएराती प्रकाशित गरिएको उम्मेदवारको अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङ गरी पाँच जनाको उम्मेदवारी कायम भएको छ ।
यसैगरी दुई जना उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह गरी सातै जनाको उम्मेदवारी कायमै छ । दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ ।