
काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाउनुभएको छ ।
राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिनुभएको थियो । १७०६ मत गणना हुँदा देउवाले ८११ मत पाउनुभएको छ । अर्का उम्मेदवार शेखर कोइरालाले ६३६ मत पाउनुभएको छ । प्रकाशमान सिंहले १३२, विमलेन्द्र निधिले ९७ र कल्यण गुरूङले ४ मत पाउनुभएको छ ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।