
काठमाडौं । सभापतिमा प्रत्यासी वर्तमान सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विधानको व्यवस्था गरेअनुसारको मत पाउन असफल भएका छन्। अब सभापतिका अर्का उम्मेदवार शेखर कोइरालले दोस्रो मत पाएका छन्। विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले क्रमशः तेस्रो, चौथो र पाँचौ बनेका छन्। धेरै मत प्राप्त गर्ने देउवा र शेखरबीच मंगलबार फेरि निर्वाचन हुने भएको छ। दुईमध्ये जसले धेरै मत प्राप्त गर्छन्, उनैले कांग्रेसको चार वर्षका लागि पार्टीको मूल नेतृत्व सम्हाल्नेछन्। धेरै जना उम्मेदवार हुँदा मत धेरैतिर बाँडिदा कुनै पनि प्रत्यासी विजयी हुन नसकेका हुन्।
दोस्रो चरणमा हुने मतदानमा प्रतिस्पर्धाबाट बाहिरिएका सिंह, निधिको भूमिका महत्त्वपूर्ण रहनेछ। निधिको समर्थन शेखरलाई हुनेछ तर सिंहले भने शेखरलाई साथ दिने सम्भावना कमजोर रहेको निकटहरू बताउँछन्।

उमेरले शेखर ‘सिनियर’ भए पनि राजनीतिमा ‘जुनियर’ रहेको भन्दै सिंहले आफूलाई आफ्नो विचार समूहबाट अन्याय भएको बताउँदै आएका छन्। महाधिवेशनको प्रतिस्पर्धाले उनीहरूमा बढाएको तिक्तताले सिंहको रोजाइ शेखरभन्दा देउवा नै हुने विश्लेषण गरिएको छ। देउवालाई विगतदेखि नै नेता मान्दै आएको र १३औं महाधिवेशनबाट पनि सभापतिमा चुनिएकाले नेतृत्व स्वीकार गर्न सहज हुने सिंहको बुझाइ छ। त्यसका साथै निवर्तमान उपसभापति विमलेन्द्र निधिलाई बढी च्यापेको भन्दै सिंहले १२औं महाधिवेशनमा देउवाको साथ छाडेका हुन्। उनी त्यतिबेला सुशील कोइराला समूहबाट महामन्त्रीको प्रत्यासी बन्दै निर्वाचित भएका थिए। अहिले निधि देउवा समूहबाट बाहिरिएका छन्। तर, अहिले फेरि देउवासँग सिटौला जोडिएका छन्। सिटौला र निधिबीचको सम्बन्ध सुमधुर भने छैन।
निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न शेखरलाई सिंह र निधि दुवैको समर्थन चाहिन्छ। देउवाका लागि एउटाको समर्थनले पनि परिणाम आफ्नो पक्षमा पर्न सहज हुने आकलन गरिएको छ। तर, सिंह र निधि दुबैले पाएको मत देउवा वा शेखरको पक्षमा उनीहरु खुल्दैमा ती मत सबै ट्रान्सफर हुने सम्भावना पनि कम छ। दोस्रो चरणमा जाँदा महाधिवेशन प्रतिनिधिहरू नेतृत्व चयनमा स्वतन्त्र हुने नेताहरुको बुझाइ छ।