
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को ‘ब्राण्ड एम्बेस्डर’मा लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त भएका छन् ।
नेपाल टेलिकम केन्द्रीय कार्यालयमा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्वय श्रेष्ठ र आचार्य तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज ओलीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई टेलिकमको ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले कम्पनीका विभिन्न सेवा सुविधाका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन महजोडीको भूमिका सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।
कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको र मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमजस्तो संस्थाको ‘ब्राण्ड एम्बेस्डर’ हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको प्रतिक्रिया दिएका छन् ।
सम्झौतापछि उनीहरूले नेपाल टेलिकमका सेवाको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्य गर्ने छन् । हाल एक वर्षका लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने बताइएको छ ।