
काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले अमेरिकन मिलिनियम च्यालेन्ज कम्याक्ट (एमसीसी) विष जस्तै भएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने बताएका छन् ।
शनिवार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा आफूले एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग राखेको उनले बताए । उता सरकारले संसदबाट एमसीसी पास गर्ने षड्यन्त्र गरेको भन्दै विभिन्न राजनीतिक दलहरुले पुस ६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएका छन् ।

६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल नेतृत्वको), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, देशभक्त गणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले पुस ६ गते देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन् । उनीहरु आफूहरुको कार्यक्रमलाई सफल पार्न सबैलाई आग्रह गरेका छन् ।