
काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाको मंगलबारको बैठकमा पत्रकारलाई समाचार संकलनमा रोक लगाएको घटनाप्रति निन्दा गरेको छ।
महासंघले विज्ञप्ति जारी गर्दै संसदमा रिपोर्टिङका लागि पुगेका पत्रकारलाई रोक लगाउनु प्रेस स्वतन्त्रताप्रतिको ज्याजती भएको ठहर गरेको हो।

‘सार्वजनिक सरोकारको विषयमा नागरिकलाई सुसूचित गर्ने संवैधानिक दायित्व निर्वाहमा जुटेका पत्रकारलाई एकाएक समाचार संकलनमा रोक लगाउनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’ महासंघले विज्ञप्तिमा भनेको छ,‘महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गरी आगामी दिनमा यस्ता कार्य नदोहोर्याउन र निर्वाध प्रेस स्वतन्त्रता उपभोगको वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ।’
मंगलबारको प्रतिनिधिसभाको बैठकको समाचार संकलनका लागि पुगेका पत्रकारलाई संघीय संसद् भवनको प्रतिनिधिसभामा रहेको पत्रकार कक्षमा ‘माथिको आदेश’ भन्दै सुरक्षाकर्मीले प्रवेश गर्न रोक लगाएका थिए।