
काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
पार्टी कार्यालय कोटेश्वरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

प्रवक्ता महराले राष्ट्रिय सम्मेलनमा नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका विषयमा गम्भीर ढङ्गले छलफल हुने बताउनुभयो ।
उहाँले सम्मेलनमा पार्टीले भोगेका सम्पूर्ण विषयमाथि गम्भीर ढङ्गले समीक्षा गर्दै नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने दाबी गर्नुभयो ।
प्रवक्ता महराले सम्मेलन मुख्यतः वैचारिक राजनीतिक बहसमा केन्द्रित हुने बताउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक दस्ताबेजमाथि घनिभूत छलफल हुने जानकारी दिनुभयो ।
जनवादी क्रान्तिबाट पार्टी विचलित हुँदै गएको त हैन भन्ने विषयमा सम्मेलनमा गम्भीर ढङ्गले छलफल हुने बताउँदै प्रवक्ता महराले पार्टी कसरी अगाडी बढ्ने भन्ने सम्मेलनले मार्ग निर्देश गर्ने स्पष्ट पार्नुभयो ।
पुस ११, १२ र १३ गते काठमाडौँको प्रज्ञा भवन कमलादीमा सम्पन्न हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा प्रदेश, सल्लाहकार, विभाग, आयोग, ज्येष्ठ मञ्च, भ्रातृ सङ्घ सङ्गठनलगायत ५ प्रतिशत मनोनीतसमेत गरी १ हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने माओवादीले जनाएको छ ।
माओवादी केन्द्रका अनुसार आयोजक समितिका १ सय ७९, सल्लाहकार १ सय ४९, ज्येष्ठ कम्युनिस्ट १ सय २५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट १ सय २ जना र केन्द्रीय प्रतिनिधि २७ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् ।
त्यस्तै, प्रदेशहरूबाट छनोट भएर आएका ८सय ३ जना र ७३ जना मनोनीत हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो।
प्रदेश प्रतिनिधिहरू प्रदेश १ बाट ९६, प्रदेश २ बाट १ सय ६, बागमतीबाट १ सय २८, गण्डकीबाट ७४, लुम्बिनीबाट १ सय ५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरूबाट ४३ जना छनोट हुनेछन् ।
नेकपा माओवादी केन्द्रले यही पुस ११ देखि १३ गतेसम्म राजधानीमा राष्ट्रिय सम्मेलन गर्दैछ ।