काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलेले ज्येष्ठ नागरिक अपहेलित भएर बस्नुपर्ने प्रवृत्तिलाई निरुत्साहित गरी सम्मान पूर्वक जीवनयापन गर्न पाउने वातावरण बनाउन जरुरी रहेको बताउनुभएको छ ।

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रिय ज्येष्ठ नागरिक कोषले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको ज्येष्ठ नागरिक अभिनन्दन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरूमा निहित ज्ञान र सीपको नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले सरकारले यस वर्षदेखि ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरेकोमा सो को प्रशंसा गर्दै पहिल्यैदेखि पनि सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका साथै विभिन्न सेवाहरूमा सहुलियत प्रदान गर्दै आएकोमा सन्तोष व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले अनुभव र प्रेरणाका श्रोतका रुपमा रहेका ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा लाग्न यस्ता दिवसले प्रेरणा प्रदान गर्ने विश्वास आफूले लिएको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले २०५१ सालमा मासिक एक सय रुपैयाँबाट सुरु भएको ज्येष्ठ नागरिक भत्ता हाल मासिक ४ हजार रुपैयाँ पुगेको सन्दर्भ उल्लेख गर्दै यो ज्येष्ठ नागरिकका लागि सहारा बनेको बताउनुभयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकको सुरक्षालाई ध्यानमा राखी महानगरपालिकाले १ सय १० जना क्षमताको वृद्धाश्रम सञ्चालनमा ल्याएको र आगामी दिनमा ज्येष्ठ नागरिक मैत्री अन्य कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताउनुभयो ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति वसन्तराज कार्कीले ज्येष्ठ नागरिक मुलुकका नीधि भएकाले उहाँहरूको अनुभव पुस्ता हस्तान्तरण गर्दै जाने कुरामा कोषले भूमिका खेल्ने बताउनुभयो ।

सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा महत्त्वपूर्ण योगदान पुर्‍याउनुहुने केही ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन गर्नुका साथै केहीलाई कदर पत्र प्रदान गर्नुभयो ।

आज अभिनन्दित हुनेहरूमा शताब्दी पुरुष डा.सत्यमोहन जोशी, पत्रकार भैरव रिसाल, शिक्षा सेवी नानिमैयाँ श्रेष्ठ, समाजसेवी डा.गौरीशङ्करलाल दास, वरिष्ठ मूर्तिकार काले कुमाले, पूर्व गभर्नर हिमालय शमशेर जबरा, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकार, मदनदास श्रेष्ठ, पूर्व सचिव कृष्ण हरी बास्कोटा लगायत रहनुभएको छ ।

साही समारोहमा राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिक सम्बन्धी उपत्यका व्यापी कविता प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गर्नुभयो ।

मन्त्रिपरिषद्को २०७८ ज्येष्ठ ११ गतेको निर्णय अनुसार सरकारले यस वर्षको पुस ११ गतेलाई प्रथम ज्येष्ठ नागरिक दिवसका रुपमा मनाएको हो ।

नेपालमा हाल ३० लाख ज्येष्ठ नागरिक रहनुभएको राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सदस्य केशवराज लम्सालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय