चितवन । गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पोखरा, लुम्बिनी र चितवनका पर्यटकीय क्षेत्रको संयुक्त रुपमा प्रवर्द्धन गरिने भएको छ ।

लामो समयसम्म कोरोनाले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्ड गण्डकीको पहलमा तीनै प्रदेशका पोखरा, चितवन र लुम्बिनीलाई समेटेर पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन स्वर्ण त्रिकोण अवधारणा प्रस्ताव गरिएको छ ।

एकै साथ हिमाल, पहाड र तराईका दृश्यलाई नजिकैबाटै नियाल्ने गन्तव्यका रुपमा स्वर्ण त्रिकोणको पर्यटन प्याकेज प्रस्ताव गरिएको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनी, विश्वकै दुर्लभ एक सिङ्गे गैँडा धेरै सङ्ख्यामा पाइने चितवन र हिमालको काखमा रहेको साहसिक पर्यटनको गन्तव्य पोखरालाई स्वर्ण त्रिकोणका रुपमा जोड्ने लक्ष्यअनुरूप अघिल्लो साता बोर्डका प्रतिनिधि, व्यवसायी र सञ्चारकर्मी सहितको टोलीले चार दिने प्रवर्द्धनात्मक भ्रमण सम्पन्न गरेको छ ।

भ्रमणका क्रममा विद्यमान पर्यटकीय पूर्वाधार, नयाँ पूर्वाधार विकासको सम्भावना, चुनौती लगायतका विषयमा अवलोकन तथा छलफल समेत गरिएको थियो । पोखरा, चितवन र लुम्बिनी नेपाल घुम्ने जो कोहीले नछुटाउने गन्तव्यका रुपमा स्थापित भइसकेका छन् ।

हवाई तथा स्थल मार्ग दुबैबाट जोडिएका यी तीन वटै स्थानको यात्रा जहाँबाट सुरु गर्दा पनि हुन्छ । सामान्यतः एक हप्ताको समय लिएर भैरहवाबाट भ्रमण सुरु गर्दा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्दै पोखरा सहित चितवनमा पुगेर भ्रमण सम्पन्न गर्न सकिन्छ ।

यात्राको प्याकेज समय र बजेट दुवै अनुसार पनि तय गर्न सकिनेछ । चाहे चितवन होस्, चाहे पोखरा, चाहे लुम्बिनी नै किन न होस्, हरेक ठाउँमा चार देखि ७ दिनसम्मको प्याकेज बनाएर प्रस्तावित स्वर्ण त्रिकोण भ्रमण गर्न सकिने पर्यटन व्यवसायीहरूले बताएका छन् । यस अवधारणाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्न सक्ने पर्यटन व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय