काठमाडौँ। सिभिल ग्रुप ठगी प्रकरणमा पक्राउ परेका पूर्व सांसद इच्छाराज तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालाको इजलासले बुधबार तामाङलाई पुर्पक्षका लागि थुनामा पढाउने आदेश दिएको हो। सिभिल ग्रुपअन्तर्गत सिभिल सहकारीका नाममा भएको ठगीमा तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो।

सिभिल सहकारीका १५ सय ३ निक्षेपकर्ताको उजुरीमा ५ अर्ब ३७ करोड ५५ लाख २४ हजार ९३७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको हो।

सिआइबीले पक्राउ गरेका १२ मध्ये नौजनालाई धरौटीमा छाड्ने तथा एकजनालाई साधारण तारेखमा छाड्ने अदालतको आदेश छ । पक्राउ परेका हरिहरप्रसाद लामिछानेसँग ५० लाख, विजयविक्रम शाहसँग १५ लाख, भगवानबहादुरसिंह डंगोलसँग १० लाख धरौटी माग भएको छ ।

लामिछाने सहकारीको लेखा समिति सदस्य थिए भने शाह सिभिल होम्सका वरिष्ठ प्रबन्धक हुन्् । त्यस्तै, कर्मचारीहरू एलिना तुलाधर, मयोनानी महर्जन, बुद्धराज तामाङ र कौस्तुभकेतन ढुंगानासँग प्रतिव्यक्ति पाँच–पाँच लाख तथा शंकरप्रसाद पाठकसँग दुई लाख ५० हजार र राकेश महर्जनसँग ५० हजार धरौटी माग भएको छ । सहकारीका कार्यालय सहयोगी संगीत श्रेष्ठ साधारण तारेखमा छुटेका छन् । प्रहरीले पक्राउ गर्नुभन्दा केही महिनाअघि मात्र उनी सहकारीमा आबद्ध भएका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धानका आधारमा गत महिना मुद्दा दायर गरेको थियो । सिआइबीमा एक हजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताले पाँच अर्ब ७७ करोड ठगी भएको भन्दै जाहेरी दिएका थिए ।

पूर्वसांसदसमेत रहेका तामाङले आकर्षक ब्याजको प्रलोभनमा सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियमविपरीत कर्जा आफ्नै कम्पनीको नाममा प्रवाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय