काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन् ।

अध्यक्ष लिङ्देनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरासमेत औंल्याए।

स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दाबी गरे।

अध्यक्ष लिङ्देनले देशलाई अन्य देशको खतराबाट टार्नसमेत राजसंस्था अनिवार्य रहेको तर्क गरे। उनले राजा वीरेन्द्रले देशलाई अन्य देशबाट झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरूसँग सम्झौता गरेर संवैधानिक राजाको रूपमा आफूलाई उभ्याएको पनि बताए।​उनले स्वर्गीय राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको उल्लेख गरे। अध्यक्ष लिङ्देनले भने, ‘म केटाकेटी नै थिएँ–२०३२ सालतिर होला। जब सिक्किममा राजसंस्थाको अन्त्य भयो। जनताका प्रतिनिधिहरुले भन्नेले त देशै भारतमा बिलाइदिए।

राजाको अभावमा, राजसंस्थाको अभावमा हाम्रो पनि देश कुनै पनि बेला त्यस्तो खतरामा पर्न सक्छ भन्ने मलाई लागेको थियो। त्यसबेला भन्दा अझ मैले अहिले बढी बुझ्छु। ए, राजा हट्यो, सिक्किम पनि सकियो। त्यसबाट मलाई के लाग्यो भने हामी कोहीभन्दा, हामी राजनीतिक दलका नेताभन्दा, कुनै अरू छुट्टै नागरिकभन्दा, हामी सबैभन्दा राजा देशभक्त हुन्छन् भन्ने कुरा चाँहि प्रमाणित भयो भन्ने लाग्छ मलाई।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय