काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको परिवारको सम्पत्ति छानबिन सुरू भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनका परिवार र आफन्तको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोकेको हो ।

‘अनुसन्धान अधिकृतसहितको टोली तोकिसकिएको छ, टोलीले काम थालिसकेको छ,’ विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।प्रधानन्यायाधीश र उनको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले विभागमा उजुरी दिएका थिए ।

पदमा रहुँञ्जेल राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने भए पनि उनका परिवारका सदस्य, आफन्तको छानबिन गर्न बाधा नपर्ने भएकाले उजुरी परेपछि अनुसन्धान थालिएको भट्टराईको कथन थियो ।

‘अनुसन्धान टोलीले उहाँको परिवारको सम्पत्ति, बैंक ब्यालेन्स, जग्गा सबै विवरण हेर्छ, अनुसन्धानले जे देखाउँछ सोहीअनुसार काम अघि बढ्छ,’ भट्टराईले भने ।

विभागले बैंकहरूमा रहेको मौज्दात, कारोबार हेर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले सम्बन्धित बैंकबाट विवरण मगाएर विभागलाई पठाउने गरेको छ ।

विभागसँग नेपाल प्रहरी, राष्ट्र बैंक, राजश्व अनुसन्धान विभागबीच कालोधन नियन्त्रण गर्न सम्झौता छ । राष्ट्र बैंक सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा सहयोग गर्ने निकाय हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय